तपाईँ सुन्दै हुनुहुन्छः

महाशिलाका सबै वडामा अनलाइनबाटै घटना दर्ता गर्न सुरु

पर्वत । पर्वतको महाशिला गाउँपालिकाका सबै वडामा अनलाइनबाट घटना दर्ता गर्न सुरु भएको छ ।
गत वर्षबाट सुरु भएको अनलाइन घटना दर्ता गर्न पूर्वाधार विस्तार भइरहेकोमा हालै सबै वडामा सेवा बिस्तार गरिसकिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता लगायतका कार्य अनलाइनमार्फत गर्न थालेपछि सेवाग्राहीको काम छिटो, छरितो हुने अध्यक्ष पौडेलले बताउनुभयो ।
महाशिला गाउँपालिकाले सबै वडामा इन्टरनेटको सेवा पुर्‍याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्यक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाएको अध्यक्ष पौडेलले बताउनुभयो ।
अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्ताबेज सुरक्षित गराउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम शर्माले बताउनुभयो ।
अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ ।
सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भए पनि गाउँपालिकामा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली सुरु हुन सकेको थिएन ।
जिल्लाको कुश्मा नगरपालिकाले पनि १४ वटा वडामध्ये अहिलेसम्म ९ वटा वडामा अनलाइन घटना दर्ता सेवा बिस्तार गरेको छ ।
चालु वर्ष सबै वडामा सेवा विस्तार गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिनुभयो ।
जलजला गाउँपालिकाले पनि सबै वडामा गत वर्ष नै अनलाइन घटना दर्ताको काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button