तपाईँ सुन्दै हुनुहुन्छः

खण्डहर बनेको गुमुखोला बजार

विगतको गुमुखोला बजार

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्छ गुमुखोला । १७ बर्ष अघिसम्म जिल्लाकै प्रमुख व्यापारिक केन्द्र रहेको गुमुखोला बजार अहिले झण्डै झण्डै खण्डहर गुमुखोला बनेको छ ।

बजारको रौनकबाट झण्डै खण्डहर बनेको गुमुखोलामा एउटा दुकान भने अहिले पनि सञ्चालनमा छ । उमेरले ७० नाघेकी रामकुमारी श्रेष्ठ विगत ४० बर्ष अघिदेखि त्यही पसलमा बसेर श्रीमानसँग गुमुखोलाको व्यापारमा अभ्यस्त छिन् ।

४० बर्ष अघि पसल सुरु गर्दाताकाको सम्झनाले रोमाञ्चित हुन्छिन् रामकुमारी । त्यतिबेलाको के कुरा गर्नु मानिसको भिडले सडक वारपार गर्न समेत मुस्किल हुन्थ्यो, व्यापारको त कुरै छाडौँ – रामकुमारीले भनिन् । अहिले त तपाईँहरू जस्तो पाहुना र फाट्ट फुट्ट बटुवा आउँदा अलिअलि व्यापार हुने हो – उनले भनिन् ।

विगत ३० बर्ष देखि नियमित रामकुमारीको दुकानमा चियाको चुस्की लगाउन आउने छिमेकी मकर बहादुर राउत आफूले कल्पनै गर्न नसक्ने गरी गुमुखोला बजार खण्डहर बनेको गुनासो सुनाउँछन् ।

अहिले खण्डहर बनेको गुमुखोला

१७/१८ बर्ष अघिसम्म गुमुखोलामा डेढ सयभन्दा बढी पसल र घरहरू थिए, कृषि विकास बैङ्क, नेपाल बैङ्क, महिला विकास, पशु सेवा कार्यालय आदीका शाखाहरू थिए तर अहिले एक/दुई मानिस हिँड्दा पनि चिज हुने भएको छ – मकर बहादुरले भने । हरेक महिनाको १० र २५ गते हाट लाग्दा जिल्ला भरीकै मान्छे आएझैँ भिड लाग्ने गरेको स्मरण छ मकर बहादुरलाई ।

एउटा दुकान र दुई/तीन वटा घर भएको खण्डहर गुमुखोला देखेर आतेस लाग्ने गरेको स्थानीय रामकाजी श्रेष्ठ बताउँछन् । विगतमा यही बजार हो मानिसलाई छिचोलेर अघि बढ्नै कठिन हुन्थ्यो भिडले गर्दा, अहिले उराठलाग्दो खण्डहर बनेको छ – रामकाजीले भने ।

२०६० साल अघिसम्म गुमुखोला उत्तरी भेगको लप्ची, लामाबगर, गौरीशङ्कर, सिंगटी लगायत तत्कालीन २२ गाविसको पैदल मार्ग र प्रमुख व्यापारिक केन्द्र थियो । २०६० सालमा माथिल्लो भेगबाट सडक बनेपछि गुमुखोला बजार क्रमशः घट्दै गएको र भूकम्प पछि झण्डै झण्डै खण्डहर नै बनेको रामकाजी श्रेष्ठ बताउँछन् ।

माथिल्लो भेगको सडकले गुमुखोला बजारलाई क्रमशः विस्थापित गरेकोमा भुकम्पछि सबैले आफ्नो थातथलो छोडेर सिंगटी, चरिकोट र काठमाडौँ तिर लागेपछि खण्डहर जस्तै बनेको स्थानीयको बताउँछन् ।

अहिले गुमुखोला छेउबाट जुगु जाने सडकको लागि तामाकोसीमा पुल बनेकोले फेरी चहलपहल बढ्ने हो की भन्ने आश पलाएको रामकुमारी बताउँछिन् । यो ठाउँ खण्डहर हुँदा त छोडेनौ, अब त पुल बनेकोले चहलपहल फर्कन्छ कि भन्ने आश पलाएको छ त्यसैले अन्यत्र कतै जाने बारेमा सोचेकै छैनौ – गुमुखोलाका पहरेदार रामकुमारीको जोडी भन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button