तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको प्रमुख शिवालयहरूमा श्रद्धालुको घुइँचो

महोत्तरी । महाशिवरात्रि पर्वको अवसरमा महोत्तरीको प्रमुख शिवालयहरू रहेको धार्मिक स्थलहरूमा बिहानै देखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
प्राचीन तथा पुरातात्त्विक महत्त्व रहेको जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर र बर्दिबास स्थित टुटेश्वरनाथ महादेव, भंगाह स्थित शिवनाथ मन्दिर र गौशाला स्थित मङ्गलनाथ महादेव लगायतका स्थानहरूमा बिहानै देखि श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भिड लागेको छ ।
शिवरात्रिका दिन मधेसका कृषकले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका वाला तथा सु–स्वास्थ्यका लागि भगवान् आसुतोषलाई भण्टाको भार चढाउने परम्परा पनि रहेको छ । महाशिवरात्रिको अवसरमा यहाँ धेरै भक्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शनपश्चात् मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ ।
जलेश्वर स्थित जलेश्वरनाथ मन्दिर, बर्दिबास स्थित टुटेश्वरनाथ महादेव, भंगाह स्थित शिवनाथ मन्दिर र गौशाला स्थित मङ्गलनाथ महादेव लगायतका स्थानहरूमा बिहानै देखि श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भिड तथा पूजा कीर्तनले वातावरण भक्तिमय बनेको छ ।
यी शिवालयहरूको महोत्तरीको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरू हुन् । शिवालयहरूमा भारतबाट समेत दर्शनका लागि श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । कोभिड १९ को सङ्क्रमणको कारण भने भारतबाट आउने श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरु भने कमी आएको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button