ललितपुरमा महिला हस्तकला मेला शुरु
ललितपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शनिवारदेखि ललितपुरमा महिला हस्तकला मेला शुरु भएको छ ।
ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा आयोजित मेलाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले हस्तकला उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिकाले सयौँ व्यक्तिलाई तालिम दिए पनि उनीहरू हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौँतारिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले निर्यात व्यापारमा नेपाली हस्तकलाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा महिला हस्तकला उद्यमीसँग पनि मेला, प्रदर्शनीहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोनाका कारण शिथिल बनेको हस्तकला प्रवर्द्धनात्मक मेलाबाट थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
करिब ५० स्टल रहेको मेलामा उत्कृष्ट एक स्टललाई पुरस्कृत गरिने छ । फागुन २४ गतेसम्म सञ्चालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केत्तुके, अलैँची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिङका सामान, बिड्सका सामानहरू प्रदर्शन गरिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्