तपाईँ सुन्दै हुनुहुन्छः

अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार संलग्न ट्याक्टर र टिप्परलाई जरिवाना

तनहुँ । अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार संलग्न ट्याक्टर र टिप्परलाई जरिवाना गरिएको छ । गत शनिबार फागुन १५ गते बेलुकी अन्दाजी ११ बजेको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं ७ मादी नदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् एवं लोड गरी लिई हिडेको अवस्थामा ग १ त २८३१, ना २ त ७३५७, ग १ त ३७३५ र ग १ त ४०५५ नं को ट्याक्टरहरुलाई प्रहरी चौकी कलेस्ती तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो ।

उक्त सवारीलाई व्यास नगरपालिकाको कार्यालयमा पठाएकोमा नगरपालिकाले प्रति ट्याक्टर रु ८ हजारका दरले ३२ हजार जरिवाना गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दिन राती बिहानीपख जिल्लाको व्यास–१ मनकामनाचोकमा बन्दिपुर गाउँपालिका वडा नं ६ सारङ्घाट स्थितमा बन्द रहेको नमुना ग्रिड क्रसरबाट अबैध रुपमा गिट्टी बालुवा लोड गरी दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग २ ख ८२०९ र ग १ क ४२६१ नं। नं को टिप्परहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी बन्दिपुर गाउँपालिकाको कार्यालयमा पठाएको थियो ।

गाउँपालिकाले प्रति टिप्पर रु २० हजारका दरले रु ४० हजार जरिवाना गरेको प्रहरीले जनाएको छ ।यस्तै फागुन १८ गते मंगलबार दिउसो जिल्लाको घिरिङ गाउँपालिका वडा नं १ पुट्टार स्थितमा रहेको कालीगण्डकी नदीबाट अबैध रुपमा उत्खनन् गरी बालुवा लोड गरी हिडेको अवस्थामा लु ४ त ७२०६ र लु ३ त ३०२६ नं को ट्याक्टरहरुलाई प्रहरी चौकी पुट्टारबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई घिरिङ गाउँपालिकाको कार्यालयमा पठाएको थियो । गाउँपालिकाले प्रति ट्याक्टर रु एक हजारका दरले रु २ हजार जरिवाना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button