दलितको विकास विना प्रदेशको विकास सम्भव छैन : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा रहेको ३० प्रतिशत दलित तथा मुस्लिमको विकास विना प्रदेशको विकास सम्भव नभएको बताउनु भएको छ ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन अन्तर्गत गठन गरेको दलित विकास समितिका पदाधिकारीलाई आज नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रदेशमा रहेका १८ प्रतिशत दलित तथा १२ प्रतिशत मुस्लिमको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था निक्कै कमजोर रहेकाले माथि उठाउन समितिको निर्माण भएको बताउनुभयो ।
उहाँले अहिले पनि दलित माथि भेदभाव, छुवाछुत तथा हिंसाको घटना भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारमा प्रहरी प्रशासन भएपछि २४ घण्टा भित्रमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐनको कार्यान्वयन भएपछि दलितको अवस्थामा परिवर्तन आउने बताउँदै दलित तथा गैर दलित बिचमा रहेको सबै प्रकारको असमानताको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले अव प्रदेश सरकारले गर्ने हरेक विज्ञापनमा दलित, मुस्लिम, महिलालाई जनसङ्ख्याको आधारमा आरक्षणको व्यवस्था गरेकाले शिक्षामा दलित अगुवाहरूलाई विशेष ध्यान दिनका लागि आग्रह गर्नुभयो ।
दलित विकास समितिका अध्यक्ष समेत रहनु भएका प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नबल किशोर साहले प्रदेशमा रहेका करिब १९ लाख दलितको विकास विना प्रदेशको विकास सम्भव नरहेकाले दलित सशक्तीकरणका लागि समितिले कामकाज गर्ने बताउनु भयो ।
उहाँले दलितमा २६ जाति रहेको बताउँदै सबैलाई समितिमा राख्न नसके पनि सबै दलितको विकासका लागि समितिले कामकाज गर्ने बताउँदै शिक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिनका लागि आग्रह गर्नु भयो ।
दलित विकास समितिका नव नियुक्त अध्यक्ष रामप्रवेश वैठाले प्रदेशका दलितहरूको आर्थिक, सामाजिक, शैक्षिक तथा अन्य प्रकारको सशक्तीकरण गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गरेर कामकाज गर्ने बताउनुभयो ।
प्रदेश नंं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण विधेयकमा दलितका लागि विभिन्न सुविधाहरू प्रदान गरेर दलितको शिक्षा, स्वास्थ्य, रोजगार सहितका अन्य प्रकारको सहुलियतहरू प्रदान गर्ने व्यवस्था ऐनले गरेको बताउनुभयो ।
प्रदेश नंं २ सरकारले रामप्रवेश वैठाको अध्यक्षतामा सेवकी देवी दास, श्याम सुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिक रहेको पाँच सदस्यीय दलित विकास समिति गठन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्