तपाईँ सुन्दै हुनुहुन्छः

ज्येष्ठ नागरिकको आँखा परीक्षण, ७ सय ९५ जना लाभान्वित

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको आँखा शिविरबाट ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गरेको शिविरबाट १४ वटै वडाका ७ सय ९५ ज्येष्ठ नागरिक लाभान्वित भएका हुन् ।

नगरपालिकाले मङ्गलवारदेखि शुक्रवारसम्म आँखा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा परीक्षण गरिएका मध्ये ७० जनालाई आँखाको समस्या देखिएकाले उपचारका लागि सिफारिस गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिफारिस गरिएकाको शल्यक्रिया खर्च नगरपालिकाले बेहोर्नेछ ।

“ज्येष्ठ नागरिकको माग बमोजिम नै नगरपालिकाले आँखा शिविर गरेको हो, शिविर सञ्चालन गर्दा ज्येष्ठ नागरिक खुसी हुनुभएको छ,” सिग्देलले भन्नुभयो । उहाँका अनुसार मोतिया विन्दु देखिएका ज्येष्ठ नागरिकको सोमबार र बुधवार शल्यक्रिया गरिनेछ ।

उमेर ढल्किँदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

व्यास नगरपालिका–४ सिमलटार निवासी ७९ वर्षीय गोपनास सापकोटाले आँखा परीक्षण गराउन पाउँदा खुसी लागेको बताउनुभयो । “आँखाबाट आँसु आइरहन्थ्यो, परीक्षण गर्ने अवसर पनि जुटेको थिएन, नगरपालिकाले आयोजना गरेको शिविरमा आएर आँखा जँचाउन पाइयो, खुसी लागेको छ,” उहाँले भन्नुभयो ।

६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चार दिने आँखा शिविर आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button