बगनासकाली पाल्पामै पहिलो फुसको छाना रहित गाउँपालिका घोषित

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका जिल्लामै पहिलो फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ ।
गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका घोषणा भएको हो ।
गाउँपालिकाले बुधवार एक औपचारिक कार्यक्रमका साथ फुसको छानोरहित गाउँपालिका घोषणा गरेको छ । पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पालिकालाई पाल्पाकै पहिलो फुसरहित गाउँपालिका घोषणा गर्नुभएको हो । पालिकाले आर्थिक बर्ष २०७४ देखी २०७६ सम्म तीन चरणमा बजेट विनियोजन गरी गाउँपालिकालाई नै खरको छानामुक्त गाउँपालिका घोषणा गरेको हो । पालिकाले २ सय ५२ घरपरिवारलाई ७ सय ५६ बन्डल कर्कटपाता सहयोग गरेको छ ।
पालिकाले वडा नंं १ चिरतुङ्गधारामा १४ घरधुरीको लागि ४२ बन्डल, वडा नंं २ पोखराथोकमा ३७ घरपरिवारका लागि १ सय ११ बन्डल, वडा नंं ३ नायरमा ५ घरपरिवारको लागि १५ बन्डल, वडा नंं ४ खानीछापमा १८ घरपरिवारका लागि ५४ बन्डल, वडा नंं ५ दर्लामडाडामा ८ घरपरिवारका लागि २४ बन्डल, वडा नंं ६ यम्घामा १ सय ५ घरपरिवारका लागि ३ सय १५ बन्डल, वडा नंं ७ खानीगाउँमा ४३ घर परिवारका लागि १२९ बन्डल, वडा नंं ८ बराङ्दीमा १९ घरपरिवाका लागि ५७ बन्डल र वडा नंं ९ चापपानीमा ३ परिवारका लागि ९ बन्डल कर्कटपाता सहयोग गरेको पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । निर्वाचनको समयमै जनतासँग गरेको प्रतिबद्धता अनुसार खरको छाना मुक्त अभियान अन्तर्गत पालिकालाई खरको छानामुक्त गरिएको अध्यक्ष बस्यालले बताउनुभयो । पालिकाले आर्थिक बर्ष २०७४ मा १५ लाख रुपैयाँमा ५५ घरपरिवारमा, आर्थिक बर्ष २०७५ मा १५ लाख रुपैयाँमा ८३ घरपरिवार र आर्थिक बर्ष २०७६ मा ३९ लाख रुपैयाँमा १ सय १४ घरपरिवारमा कर्कटपाता वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले पालिकाले सहयोग गरेको कर्कटपाता सदुपयोग भए नभएको घर–घरमा अनुगमन गरेर मात्र फुसरहित गाउँपालिका घोषणा गरिएको बताउनुभयो । पालिकाले सुरु गरेको गौरवको आयोजना कर्मचारीतहबाट पूर्णरुपमा कार्यान्वयन गरी सफल बनाएको प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बताउनुभयो । सोही अवसरमा बगनासकाली आवाजको त्रैमासिक बुलेटिन समेत विमोचन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्