तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन पूर्वाधार प्रवर्द्धनका लागि दुई गन्तव्यस्थल छनौट

सोलुखुम्बु । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धनका लागि  उद्देश्यले सोलुखुम्बुका दुई वटा गन्तव्यस्थल छनौट भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको आकर्षक पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र थुलुङ दूधकोशी गाउँपालिकाको सुकेपोखरी क्षेत्रलाई गन्तव्य सुचीमा समावेश गरेर आवश्यक बजेट लागत साझेदारीका आधारमा व्यवस्था गरेको हो ।

सोलुदूधकुण्ड नगरपालिकाको सिफारिसमा मन्त्रालयको ४ करोड ५५ लाख रुपियाँ र नगरपालिकाको २ करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा पर्यटकीय पार्क निर्माण हुने मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।

पार्कमा वृक्षारोपण, बगैँचा, शौचालय लगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताउनुभयो । सगरमाथा लगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्ने स्थानका रुपमा रहेको पत्तालेमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटनलाई प्रवर्द्धन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा रहेको सुकेपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आवश्यक भौतिक संरचना निर्माण गर्न मन्त्रालयले २ करोड ८० लाख  रुपियाँ र गाउँपालिकाले १ करोड २० लाख रुपियाँ लागत साझेदारी गर्ने गरी बजेट तयार गरिएको मन्त्रालयले जनाएको छ ।

थुलुङ दूधकोशी गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा  स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष असीम राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button