७४ अर्ब १६ करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको सामान भारत निर्यात

बीरगंज । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/२०७८ को पहिलो ७ महिनामा भारततर्फ ७४ अर्ब १६ करोड ४० लाख ५३ हजार रुपैयाँ बराबरको विभिन्न मालसामान निर्यात भएको छ ।
चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारततर्फ निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताउनुभयो ।
चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वीरगञ्ज नाकाबाट मात्रै १३ अर्ब १७ करोड ९३ लाख ९४ हजार मूल्य बराबरको ८ करोड ७९ लाख ३३ हजार ४ सय ३७ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ ।
वीरगन्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् ।
गत आव २०७६÷७७ को साउनदेखि माघसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा २ सय ३९ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।
पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।
त्यसै गरी बीरगंज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्राससहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैँचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् ।
डाबरको जुस जाम १ अर्ब ९५ करोड २३ लाख ४५ हजार मूल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रसा, त्रिफला, बतिसा ६६ करोड २० लाख १६ हजार मूल्य बराबरको निर्यात भएको छ ।
डाबर दन्त मन्जन मात्रै ६० करोड १५ लाख ५४ हजारको निर्यात भएको छ भने जमोठ कपडा ७४ करोड ८१ लाख ५ हजार मूल्य बराबरको निर्यात भएको छ ।
यता स्पोर्ट सुज नेपालबाट ५५ करोड ४७ लाख २० हजार मूल्य बराबरको निर्यात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
त्यसै गरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तु समेत ठुलो परिणाममा भारत तर्फ निर्यात हुने गरेको बीरगंज भन्सारले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्