तपाईँ सुन्दै हुनुहुन्छः

नौमुरे आयोजनाबाट २८१ मेगावाट बिद्युत् उत्पादन गर्ने लक्ष्य

घोराही । प्युठानको नौमुरेमा निर्माण हुन लागेको बहुउद्देश्यीय नौमुरे आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बिद्युत् विकास विभागले प्रतिवेदन सार्वजनिक गरेको हो ।
नौमुरे बहुउद्देश्यीय आयोजना मार्फत लुम्बिनी प्रदेशका प्युठान, अर्घाखाँची र कपिलवस्तुबाट २८१ मेगावाट बिद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाका निर्माणका लागि राप्ती नदिको लामातालमा १ सय ६९ मिटर अग्लो ड्याम निर्माण गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदाका बारेमा बिद्युत् विकास विभागका गौरीप्रसाद शाह, हरिबहादुर खत्री, डा. नारायणमान श्रेष्ठ, डा. ज्योतिप्रसाद गजुरेल, शंकरबहादुर साउदले जानकारी गराउनुभएको थियो ।
प्युठानको सरुमारानी गाउँपालिकाको वडा नं ३, अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ७ र ११ र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको वडा नम्बर १ मा स्थायी संरचना निर्माण गरी काम सुरु गरिने नौमुरे बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य बिद्युत् उत्पादन, सिँचाइको व्यवस्था, बाढी नियन्त्रण,  जैविक विविधता संरक्षण, जलाशय निर्माण गर्ने रहेको छ ।
यसका साथै जलाशय निर्माण गरी र्याफ्टीङ, माछा पालनलगायतका नमुना काम गर्दै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना शहर बनाउनका लागि मद्दत गर्ने रहेको छ ।
विगत लामो समयदेखि अध्ययनमै सीमित रहेको आयोजनाको अहिले मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । पछिल्लो पटक ३ वर्षअघि पुनः अध्ययनको काम सुरु गरिएको थियो ।
नौमुरे बहुउद्देश्यीय आयोजनाको नेपाल सरकार ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, बिद्युत् विकास विभागको प्रस्तावमा इन्भाइरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्रालि नेपाल, एकिओना इन्जिनियरिया एसए स्पेन र नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिसेज प्रालिको जेभीमा वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन तयार गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button