राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा

काठमाडौँ। नेपालमा आज ६९ औ विश्व भन्सार दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ । यसै सन्दर्भमा नेपाल सरकारले नेपालको आयात निर्यात व्यापारलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विश्व व्यापार सङ्गठनले तोके बमोजिमको व्यापार प्रणाली नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर भन्सार विभागले नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरमा आयोजित कार्यक्रमका बिच कम्प्युटरको स्विच थिचेर प्रणालीको सञ्चालन प्रारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारमा नयाँ डिजिटल अन्तर्राष्ट्रिय प्रणाली लागू भएपछि नेपालको वैदेशिक व्यापार छिटो छरितो र सहज हुने बताउनुभयो । नयाँ प्रणालीको सञ्चालन सँगै नेपालको आयात निर्यातका क्रममा व्यवसायीले आवश्यक कागजपत्र बुझाउन तथा सरोकारवाला निकायले निर्णय गर्न भौतिक रूपमा सरकारी कार्यालय जानुपर्ने अवस्थाको अन्त्य भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
अर्थ मन्त्री पौडेलले कोरोना खोप लगाउने प्रक्रिया सुरु भइसकेकोले खोपले देशको आर्थिक गतिविधि अघि बढाउन सहयोग पुर्याउने उल्लेख गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विभागको आधुनिकीकरणले व्यवसायीलाई आयात निर्यात व्यापारका लागि सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार मूल्याङ्कन प्रक्रियालाई सजिलो र सहज बनाउन भन्सार विभाग थप क्रियाशील हुनु पर्ने बताउनु भयो ।नयाँ प्रणाली अन्तर्गत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिकता र प्रक्रिया, उत्पादनको हर्मोनाइजेसन, सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ ।
प्रणाली अन्तर्गत व्यापारीले कागजात स्क्यान गरेर अनलाइन अपलोड गर्न गरे पछि सरकारी अनुमति तथा निर्णय सोही माध्यमबाट फिर्ता पाउने व्यवस्था रहेको छ । प्रणालीले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया निकै छोटो बनाउनुका साथै लागत १५ देखि २० प्रतिशतले घट्ने दाबी भन्सार विभागले गरेको छ ।
यो प्रणालीबाट सरल र द्रुत व्यापारिक कारोबार, लाइसेन्स इजाजत र प्रमाणपत्र अनलाइन प्रक्रिया, व्यापारका लागि एकल मञ्च,अन्तर सम्बन्धित कार्य गर्न सहज भएको छ ।








प्रतिक्रिया राख्नुहोस्