पीएम कपमा एपीएफ सेमिफाइनल प्रवेश
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफ सेमिफाइनल प्रवेश गरेको छ ।
शनिवार त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीमाथि एपीएफले ७१ रनको जित हासिल गर्दै समूह चरणको एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । कर्णाली यो हारसँगै समूह चरणबाटै बाहिरीएको छ ।
एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका हेमन्त ओलीले ५८ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । हिमांशु शाहीले २०, कप्तान रविन्द्रजंग शाहीले १४ तथा राज शाह तथा अभिशेष ठकुरीले १२–१२ रन बनाउनुभयो ।
एपीएफका वसन्त रेग्मी र किशोर महत्त्वले समान ३–३ विकेट लिए भने भुवन कार्कीले २ तथा शरद् भेषवाकरका नाममा १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय १८ रन बनाएको छ ।
एपीएफका सन्दीप जोराले ६० रन, अमर रौटेला ३१, सुवास खकुरेलले २३, शङ्कर राना र भुवन कार्कीले १५–१५ तथा वसन्त रेग्मीले १३ रन बनाए ।
कर्णालीका कप्तान रविन्द्रजंग शाही र अनुज चुनाराले समान तीन–तीन लिए भने राज शाह र दिवान पुनले एपीएफका २ ब्याट्सम्यान पवेलियन फर्काए ।
यस्तै प्रधानमन्त्री कप अन्तर्गत शनिवार मुलपानीमा भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ दशमलव ४ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । जवाफमा लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
प्रतियोगितामा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।
गण्डकी र प्रदेश एक पनि यसअघि नै बाहिरिइसकेका छन् । एपिएफ शीर्ष र आर्मी दोस्रो स्थानमा छन् ।
माघ १२ मा हुने यी दुई टोलीबिचको खेलको नतिजाले समूह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ ।
समूह बि मा बाग्मती शीर्ष स्थानमा रहँदा लुम्बिनी दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब २ खेल जितेर रनरेटका आधारमा तेस्रो स्थानमा छ ।
तीन वटै टोलीको समूह चरणमा एक–एक खेल बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्