तपाईँ सुन्दै हुनुहुन्छः

विदेशका दुःख सम्झेर तरकारी खेतीमा रमाउँदै युवा

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा रु आठ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विदेशमा दुःख गर्दासमेत गतिलो आम्दानी हात पार्न नसकेका उहाँले बारीमा तरकारी रोप्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छन् ।

दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेविया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका हुन् ।

शुरुमा थारै जग्गामा तरकारी खेतीका गरेका चौधरीले विस्तारै तरकारी खेती गर्ने जग्गाको क्षेत्रफल बढाउँदै लगे । हाल स्वामित्वको दुई बिघा जग्गामा उहाँले तरकारी रोप्नुभएको छ ।

उहाँको हिउँदे तरकारी बालीमा आलु, काउली, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, बन्दा, हरियो सागपातलगायत रहेको छ ।

बेमौसमी तरकारी बालीका रूपमा उहाँले काँक्रा, लौका, फर्सी, तितेकरेलालगायत प्लाष्टिक टनेलमा लगाउनुभएको छ । बर्खे तरकारीमा तनेबोडी, तितेकरेलाको खेती उहाँले गर्दै आउनुभएको छ ।

विदेशको दुःखले स्वदेशमै आयआर्जनमूलक कार्य गर्नुपर्छ भन्ने सोच राखेर तरकारी खेती गरेको उहाँ बताउनुहुन्छ । उहाँले तरकारी खेतीसँगै बङ्गुर, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरासमेत पालन गर्नुभएको छ । किसान चौधरीजस्तै बेलडाँडी गाउँका २० बढी परिवार तरकारी खेतीमा संलग्न रहेका छन् ।

तरकारी खेतीमा संलग्न सबैका घरघरमा दुईदेखि चारसम्म मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि प्लाष्टिका टनेल निर्माण गरिएका छन् । प्लाष्टिका टनेलसँगै यहाँका किसानले खेतबारीमा तरकारी उत्पादन गरी बेच्दै आएका छन् । सिँचाइका लागि पुरानो गाउँमा कुलो छ ।

त्यसै कुलोको पानी प्रयोग गरी तरकारीलगायतको खेतीमा सिँचाइको व्यवस्था हुने गरेको छ । तीन कठ्ठा जग्गामै गोलभेँडा खेती गरी गत वर्ष रु ६० हजार आम्दानी हात पारेका तेजबहादुर चौधरीले यस वर्ष गोलभेँडा खेतीको क्षेत्र विस्तार गर्नुभएको छ ।

हालसम्म रु ४० हजार बढीको गोलभेँडा र रु ७० हजार बढीको काउली उहाँले बिक्री गर्नुभएको छ । “खर्च कटाएर एक सिजनमै गत वर्ष रु दुई लाख आम्दानी हात परेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष तरकारी सप्रिएकाले आम्दानी दोब्बर हुन्छ ।”

बेलडाँडी गाउँका तरकारी खेतीमा संलग्नहरुको आम्दानी रु पाँच लाखदेखि वार्षिकरूपमा रु १५ लाख बढी हुने गरेको छ । यहाँका युवाहरु विगतमा परिवारको खर्च चलाउनकै लागि वैदेशिक रोजगारी र मजदुरीका लागि भारतमा जाने कार्य गर्दै आएका थिए । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि युवा यसमै रमाउन थालेका छन् ।

कुलोको सिँचाइ गर्न पालो मिलाउने गरिएको छ । सिँचाइको कुलोबाट पानी लगाउन विलम्ब भए धेरैले घरमै जडान गरेको विद्युतीय मोटरबाट पानी तानेर सिँचाइ गर्ने गरेका छन् । तरकारी खेतीमा संलग्न किसानको एउटै दुःखेसो छ । त्यो भनेको तरकारी उत्पादन भएपछि बेच्ने झन्झट । केही तरकारी गाउँमै हुने विवाह, भोजभतेरमा खपत हुने गरेको छ । बाँकी रहेको तरकारी बेच्नका लागि टाढाको धनगढी, अत्तरिया र महेन्द्रनगरसम्म पु¥याएर व्यापारीले तय गरेको दररेटमै बेच्नुपर्ने हुन्छ ।

बिचौलियाले तरकारी बजारमै सस्तोमा तरकारीको बोली लगाई खरिद गर्ने भएकाले कुनै बेला लागतसमेत नउठ्नेसम्ममा बेचेर फर्कनुपर्ने अवस्था रहेको किसानको गुनासो छ । यहाँका किसानले गाउँमै तरकारी सङ्कलन केन्द्रको व्यवस्था गरी बिक्री वितरणको व्यवस्था गरी दिन माग गरेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा पावर टिलर, रोटाभेटर, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर र प्लाष्टिका टनेल उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यहाँका एक दर्जन बढी किसानलाई कृषि उपकरण र यन्त्र उपलब्ध गराइएको थियो ।

व्यावसायिक तरकारी खेतीमा लागेका किसानलाई अझै पनि आवश्यकता र मागका आधारमा तालिमसँगै आधुनिक यन्त्र र उपकरण दिइने कृषि ज्ञान केन्द्रका अधिकृत रणबहादुर मल्लले बताउनुभयो । तरकारी खेतीबाटै बेलडाँडीका किसानले पक्की घर निर्माण गर्नेदेखि सवारी साधानका रूपमा मोटरसाइकलसमेत जोडेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button