तपाईँ सुन्दै हुनुहुन्छः

अदालतमा विचाराधिन मुद्दाको विषयमा विभिन्न पक्षबाट आएको टिप्पणी दुःखद : सभापति देउवा

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा विभिन्न पक्षबाट आएको टिप्पणी दुखद रहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित नेपाली काँग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायका बारेमा प्रकाशित पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले संसद् विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा लोकतन्त्र पक्षधरहरूले क्रिया प्रतिक्रिया दिनु उपयुक्त नहुने बताउनुभयो ।

उहाँले अदालतबाट आउने जस्तोसुकै निर्णय पनि आफूहरूले मान्नुको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले बिपी कोइरालालाई जेलमुक्त गर्न र नेपाली काँग्रेसलाई जीवित राख्ने काममा स्वर्गीय सूर्यप्रसाद उपाध्यायको योगदान अतुलनीय रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले लोकतन्त्र र संविधानका वारेमा कहिले कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी, लोकेश ढकालले नेपाली काँग्रेस नीति र विधि प्रधान पार्टी रहेकोले काँग्रेस नीति र विधि विपरीत हिँड्न नमिल्ने उल्लेख गर्नुभयो ।

उहाँहरूले राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहको जन्म जयन्ती सरकारी स्तरबाट मनाउने प्रक्रिया थालनी गर्न सरकारसँग माग समेत गर्नुभयो ।

उहाँहरूले पार्टीका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायको फोटो पार्टी कार्यालयमा राख्न पार्टी सभापति शेरबहादुर देउवा समक्ष माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button