तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकहरुका लागि खेलकुदका विभिन्न विषयमा प्रशिक्षण सुरु

रुपन्देही । कोरोना महामारीका कारण लामो समयदेखि खेलकुदका धेरै काम प्रत्यक्ष प्रभावित भइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले भने विद्यालयका शिक्षकहरुका लागि खेलकुदका विभिन्न विषयमा विशेष प्रशिक्षण सुरु गरेको छ ।

बुटवल नगर खेलकुद विकास समितिमार्फत सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

खासगरि खेलकुदका गतिविधिलाई झाराटराई बनाउने गरेका गुनासा आइरहेका बेलामा विद्यालयमा खेलकुद हेर्ने शिक्षकलाई नै विषय केन्द्रित प्रशिक्षण दिएर खेलकुदलाई व्यवस्थित बनाउने कोसिस नेपालमै पहिलोपटक बुटवलबाट सुरु भएको छ ।

सोमबार बुटवल देविनगरस्थित नवीन औद्योगिक कदर बहादुर रिता रायमाझी माविको परिसरमा एक समारोहका बीच खेलप्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।

त्यसक्रममा उहाँले बुटवलमा खेलकुदमा विविधिकरण र विशिष्टिकरण गर्दै खेलकुदका सम्भावनालाई साकार पार्नुपर्ने बताउनुभयो ।

विद्यालयहरुमा सञ्चालन हुने दोस्रो राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर खेलकुदका विभिन्न विधामा आयोजना गरिने खेलकुदका क्रियाकलापलाई लक्षित गरेर प्रशिक्षण सुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button