तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

वीरगन्ज । नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । उखु किसानको बक्यौता तिर्न बाँकी रहेको चिनी मिलका सञ्चालकविरुद्ध सरकारले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका अग्रवाललाई आज बिहान वीरगन्जबाट प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाई पक्राउ गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले आवश्यक अनुसन्धानका लागि अग्रवाललाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र उनलाई आजै नवलपरासी पठाइएको बताउनु भयो ।
नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिल वीरगन्ज निवासी सुशीला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशीलाका जेठाजु मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो । यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
यस अघि उखु किसानहरूले चिनी मिल सञ्चालकसँग एक वर्ष अगाडी गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै गत मङ्सिर २८ गतेदेखि काठमाडौँमै किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए । पुस १३ गते सरकारसँग ४ बुँदै सहमति भएसँगै उखु किसानहरूले आन्दोलन स्थगित गरेका थिए ।
सम्झौता भएको दिनेदेखि २१ दिनभित्र चिनी मिल सञ्चालकहरूले किसानहरूको भुक्तानी दिनका लागि म्याद तोकिएको छ । त्यति बेलासम्म नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले प्रतिबद्धता जनाएको उखु किसानहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button