जिल्लामै कर कार्यालय बसेपछि व्यवसायीहरू खुसी

दोलखा । व्यवसायका लागि प्यान लिन सदरमुकाम चरिकोट आएका दोलखा मेलुङ गाउँपालिकाका विष्णुबहादुर न्यौपानेले जिल्लामै कर कार्यालय स्थापना भएर निक्कै सुविधा भएको बताउनु भयो ।
विगतमा भक्तपुर र धुलिखेल पुगेर हप्ता दिन भन्दा बढी समय लगाएर प्यान लिनुपरेको कहानी सुनेका न्यौपानेले सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएपछि आफूले एक दिनमा प्यान लिएर घर फर्कन सकेको बताउनुभयो । हरेक व्यवसायको लागि प्यान आवश्यक हुने अवस्थामा जिल्लामै कर कार्यालय स्थापना हुँदा निक्कै सहज भएको कार्यालयमा पुगेका सेवाग्राहीहरूले बताएका छन् ।
२०७६ साल पुस २१ गतेको क्याबिनेट बैठकको निर्णय पछि २०७७ साल असोज ३० गतेबाट दोलखामा करदाता सेवा कार्यालय सञ्चालन भएको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताउनु भयो । कार्यालय स्थापना भएको दुई महिनाको अवधिमा दुई सय ८० वटा व्यवसायीक प्यान, झन्डै चार सय वटा व्यक्तिगत प्यान र २२ वटा भ्याट दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो । कार्यालय स्थापना हुनु अघि जिल्लामा ६ हजार ८ सय ७८ वटा व्यवसायीक प्यान, २ हजार २ सय ९४ वटा व्यक्तिगत प्यान, १ सय १९ वटा अन्य प्रकारको प्यान र १ हजार १८ वटा भ्याट दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दोलखा जिल्लाबाट करदाता सेवा कार्यालय स्थापना हुनु अघि अघिल्लो आर्थिक वर्षमा २०७६ असार मसान्तसम्म १५ करोड २७ लाख कर सङ्कलन भएको र कार्यालय स्थापना भएपछि पुस १२ गतेसम्म एक करोड ७९ लाख ११ हजार कर सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएपछि धेरै व्यवसायीहरूले अवरुद्ध भएको करलाई नियमित गरेको कार्यालयले जनाएको छ । कार्यालय स्थापना भएपछि दोलखाको सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, कालिन्चोकको कुरी, मागादेउराली र सिंगटीमा करदाता शिक्षा सञ्चालन गरिएको, सरकारले कोरोनाको अवधिमा दिएको सुविधा सम्बन्धी स्किमको बारेमा र करका अन्य प्रक्रियाको बारेमा ब्रसियर, श्रव्य दृश्य, भेटघाट आदी माध्यमबाट जानकारी गराइएको कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो ।
करदाता सेवा कार्यालय चरिकोटको मुख्य उद्देश्य छिटो र कम लागतमा गुणस्तरीय सेवा दिने, वैद्य व्यवसायलाई प्रोत्साहन तथा अवैध व्यवसायलाई नियन्त्रण, व्यापार व्यवसायमा सहजीकरण, कर कानुनको परिपालना आदी रहेको र सोही अनुसार कार्यालयले सेवा प्रदान गरिरहेको पनि कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताउनु भयो । तर अहिले कार्यालयमा आफु सहित दुई जना मात्र कर्मचारी भएकोले पूर्ण रुपमा सेवा प्रदान गर्न समस्या भइरहेको श्रेष्ठको भनाई छ ।
कार्यालय स्थापना भएको दुई महिनाको अवधिमा आठ वटा अवैध मदिरा पसललाई कारबाही गरिएको र १० हजार लिटर अवैध मदिरा नष्ट गरिएको, बजार अनुगमनको क्रममा ३८ वटा करदाताको व्यवसायीक फर्ममा पुगिएको र चार वटा करदातालाई कारबाही गरी ७५ हजार जरिवाना गरिएको पनि कार्यालयले जनाएको छ ।
दोलखा जिल्लामा सरकारी कार्यालय तथा विद्यालयहरूलाई समेत विभिन्न शीर्षकमा कर कट्टा गरी विवरण पठाउन र डब्लु प्यान लिन पटक पटक ताकेता समेत गरिएको करदाता सेवा कार्यालय चरिकोटले जनाएको छ । जिल्लामा अहिलेसम्म ४४ वटा सामुदायिक विद्यालयले मात्र डब्लु प्यान लिएको विवरण रहेको पनि कार्यालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्