तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा भित्र्याइएका भैसी, राँगा र पाडापाडी नियन्त्रणमा

वीरगञ्ज । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले ४७ वटा भैसी, राँगा र पाडापाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले शनिबार ठोरी गाउँपालिका वार्ड नम्बर ५ बाघमोर्चाको ओरिया खोला हुँदै भारतबाट अवैध रुपमा ल्याईरहेको अवस्थामा ३९ वटा भैसी, राँगा, पाडापाडी पक्राउ गरी आज थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोली आज अवैध रुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा वीरगञ्ज नजिकै तिलावे पुल क्षेत्रबाट ४ भैसी र ४ राँगा गरी ८ वटा भैंसी र राँगा नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका भैसी र राँगालाई थप कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाईने तयारी भई रहेको प्रहरी उपरीक्षक पन्तले जानकारी दिनुभयो ।

विगत केही समययता भारतबाट अवैध रुपमा भैसी तथा राँगा, पाडा पाडी भित्र्याउने क्रम बढेसँगै यसलाई रोक्न प्रहरीले कडा निगरानी राख्दै आएको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button