बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एक जना कोरोना सङ्क्रमित भागे
रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना सङ्क्रमित भागेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको को आइसियुमा भर्ना भएका बुटवल–१३ बेलबासका ५५ वर्षीय पुरुष आइतबार बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट भागेका छन् ।
आइसियुमा कार्यरत स्वास्थ्यकर्मीसँग शौचालय जान्छु भनी हिँडेका उनी शौचालयबाटै भागेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियुमा भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको र अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले शनिवार डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिनुभयो ।
आइतबार बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।
शौचालयबाट भागेको देखेपछि अस्पतालका कर्मचारी र कुरुवाहरूले कहिबेर पिछा गरे पनि राजमार्ग पार गरेर जङ्गलभित्र पसेपछि नियन्त्रणमा लिन नसकिएको डा. थापाले जानकारी दिनुभयो ।
अस्पतालबाट बिरामी भागेको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराए पनि उनको बारेमा अहिलेसम्म जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
ती पुरुषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ । तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीको कारण बिरामी हराएको आरोप लगाएका छन् ।
आइसियुमा भर्ना भएका बिरामीलाई निगरानीमानराखी शौचालयमा जाँदा पनि एक्लै जान दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्