तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

सिमकोट। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ ।

नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताउनुभयो । उहाँका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।

नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले बताउनुभयो ।

उक्त ठाउँका घरहरु कर्णाली नदी नजिकै रहेकाले पनि हावाको वेगले बसिनसक्नु भएको उहाँको भनाइ थियो । नारा लेकका हिमालहरुले हिल्सा बजार एउटा कोप्चो जस्तै परेकाले समयमै घामसमेत नलाग्ने गरेको हो । त्यसैले उक्त क्षेत्रमा नियमित घाम नलाग्ने र बिहानैबाट हावा चल्ने गर्दछ ।

अत्यधिक चिसो बढेपछि खानेपानीको धारामा समेत पानी जम्न थालेको छ । उहाँले भन्नुभयो, “तातो पानी तताएर हालेपछि मात्र धाराको पानी आउँछ, चिसोका कारण हातमुख धुन पनि कठिन भएको छ, अत्यधिक चिसोको कारण बिहान ११ नबज्दासम्म बाहिर निस्कन सकिँदैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button