तपाईँ सुन्दै हुनुहुन्छः

मुडे चरिकोट सडकको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग

दोलखा । दोलखाका नागरिक प्रतिनिधिहरूले मुडे चरिकोट सडक खण्डमा भइरहेको सडक विस्तार र कालोपत्रेको काम अत्यन्त सुस्त रहेकोले हाल काम गरिरहेको निर्माण कम्पनीसँग ठेक्का रद्द गरेर नयाँ ढङ्गले निर्माणको काम अगाडि बढाउनु पर्ने बताएका छन् ।

युएसएआइडि र एफएचआई ३६० परियोजनाको सहयोगमा मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले  सञ्चालन गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत रेडियो शैलुङको साझेदारीमा सञ्चालित मुडे चरिकोट निर्माणमा ढिलासुस्ती विषयक साझा सभा कार्यक्रमका सहभागीहरूले सडक निर्माण यो वर्षको बर्षायाम अघि सकिने सम्भावना नरहेकोले ठेक्का रद्द गरी नयाँ ढङ्गले काम सुरु गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागी लामोसाँघु मुडे चरिकोट निर्माणमा भएको ढिला सुस्ती विरुद्ध नागरिक खबरदारी अभियानका सहसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी, दोलखा उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार श्याम खतिवडा, होटल सङ्घ दोलखाका सदस्य पुष्कर बस्नेत, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका उपाध्यक्ष मन्दिरा थापा, नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल, बाल अधिकारकर्मी राजन बस्नेत लगायतले काममा ढिलासुस्ती गरेको र सम्पन्न थोरै काम पनि गुणस्तरहीन भएको आरोप लगाउँदै तत्काल ठेक्का रद्द गर्नु पर्ने बताउनु भएको थियो ।

दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घका महासचिव राजेश थापाले विभिन्न ठाउँमा ठेकेदारले काममा लापरबाही गर्दा राम्रो काम गर्नेहरू समेत बदनाम हुनु परेको गुनासो गर्नुहुँदै मुडे चरिकोट सडकमा केही प्रगति देखिएकोले काम हुने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा सहभागी लामोसाँघु तामाकोसी जिरी सडक आयोजनाका प्रमुख दीप वाराहीले ठेक्का तोड्दा कानुनी समस्याका कारण तत्काल अर्को ठेक्का लगाएर काम गर्न समस्या हुने भएकोले सकेसम्म अहिलेकै ठेकेदारबाट काम गराउने र त्यो सम्भव हुँदै भएन भने ठेक्का तोडेर भए पनि नयाँ ठेकेदार मार्फत काम गराउने बताउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटीले सडक निर्माणको काम समयमै सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालयले कानुनी दायराभित्र रहेर अधिक प्रयत्न गरिरहेको उल्लेख गर्दै आयोजनाले ठेकेदारले काम नगरेकोले पत्राचार गरी आवश्यक कारबाही गर्न भनी लिखित रुपमा दिए ठेकेदारलाई पक्राउ गरी कानुनी रुपमा आवश्यक कारबाही गर्न सकिने बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button