तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका ९ कृषि सहकारी संस्थाले किसानको धान खरिद गर्दै

जनकपुरधाम । नेपाल सरकारले किसानको हितलाई ध्यान दिएर यसपटक धानको तोकेको समर्थन मूल्यमा धनुषाका ९ वटा कृषि सहकारी संस्थाले खरिद गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाको पहलमा ती सहकारी संस्थाले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न थालेका हुन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको प्रादेशिक कार्यालयले समर्थन मूल्यमा किसानको धान खरिद गरिरहेको बेलामा सहकारी संस्थाले पनि धान खरिद गर्न थालेपछि किसानहरु निक्कै खुशी भएका छन् । मौसम अनुकूल भएका कारणले गत वर्ष भन्दा यस पटक बढी धान उत्पादन धनुषासहितका जिल्लाहरुमा भएको छ ।

किसानले खुद्रमा राम्रो मूल्य पाईनरहेको बेलामा परियोजनाको पहलमा धनुषा जिल्लाको साना किसान सहकारी संस्था लिमिटेड रघुनाथपुर, साना किसान कृषि सहकारी संस्था लिमिटेड विदेश नगरपालिका तिनकौरीया, महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड औरही ४ ले आफ्नै समूहमा रहेका किसानसंग धान खरिद गरिरहेको छ ।

यसैगरी, महिला साना विकास कृषि सहकारी संस्था लिमिटेड चक्कर, श्रीमहिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सतोखर, महिला साना किसान कृषि सहकारी संस्था मिथिला विहारी नगरपालिका वडा नंं ८, महिला साना किसान कृषि सहकारी संस्था हंसपुर नगरपालिका वडा नंं ५ सुगानिकास रहेको परियोजनाका प्रशासन शाखाका नायव सुब्बा विन्देश्वर यादवले जानकारी दिनुभयो ।

नेपाल सरकारले यस वर्षका लागि मसिनो धानको समर्थन मूल्य २ हजार ८ सय ८५ रुपैया तथा मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ तोकेको छ । समर्थन मूल्यमा धान खरिद गर्ने ९ वटै सहकारी संस्था परियोजनामा सूचीकृत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button