आठ करोडको लागतमा कोभिड अस्पताल सञ्चालन
विराटनगर । विराटनगर–१० मा आजदेखि एचडियु र अक्सिजन सहितको एक सय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाको लागतमा अस्पताल सञ्चालनमा आएको हो ।
अस्पताल निर्माणका लागि प्रदेश सरकारले रु एक करोड, महानगरपालिकाले रु २५ लाख र निजी क्षेत्र तथा बैंक लगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए । अस्पतालको उद्घाटन गर्नुहुदै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारको रहेको बताउनुभयो ।
उहाँले कोरोनाको उपचारको क्रममा निजी अस्पतालले नागरिकको घरबास समेत उठाएकोले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताउनुभयो ।
सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा अस्पताल निर्माण गरिनु अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण निजी क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्नुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा थप १०० बेडको भेन्टिलेर अस्पतालमा चाँडै निर्माण कार्य शुरु गर्नका लागि स्विस सरकारबाट रु चार करोड सहयोग उपलव्ध भएको जानकारी दिदै फोहर व्यवस्था, वाटर ट्रिटमेन्ट, र अक्सिजन प्लान्ट आदि यस क्षेत्रमा निर्माण गर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्क्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोच अनुसार अस्पताल निर्माण भएको बताउर्दै भविष्यमा यस अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो ।
नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले अस्पतालको निर्माणबाट यस प्रदेशका साथै छिमेकी प्रदेशका नागरिकले सहज उपचारको सुविधा प्राप्त हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्