तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ : मन्त्री गुरुङ

दोलखा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दोलखामा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई सङ्घीय सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला दोलखामा भीमेश्वर नगरपालिकाले आयोजना गरेको टुँडिखेल निर्माणको शिलान्यास कार्यक्रममा सहभागी हुनु भएका मन्त्री गुरुङले दोलखामा निर्माणको क्रममा रहेको माथिल्लो तामाकोसी जल विद्युत् आयोजना, उत्तर दक्षिण राजमार्ग जोड्ने लामा बगर लप्ची सडक, खरी ढुङ्गामा रहेको म्याग्नेसाइट, डाँङडुङे डाँडामा रहेको फिल्म सिटी जस्ता राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उत्तर दक्षिण जोड्ने लामा बगर लप्ची सडकको लागि लामा बगरमा सुरुङ मार्ग बनाउन यही माघ महिना भित्र निर्माण कम्पनी छनौट गरेर काम सुरु हुने मन्त्री गुरुङले बताउनुभयो ।

यो सुरुङ मार्ग नेपालकै पहिलो नयाँ प्रविधिसहितको नमुना मार्ग हुने र यसले समग्रमा नेपालकै विकास र समृद्धिको अभियानमा सहयोग पुर्‍याउने मन्त्री गुरुङले बताउनुभयो ।

मन्त्री गुरुङले नेपालको जलश्रोत विकासमा ठुलो महत्त्व राख्ने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम यही आर्थिक बर्ष भित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको र निर्धारित समयमा काम सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गरिरहेको बताउनुभयो । उहाँले माथिल्लो तामाकोसी आयोजनाको काम विभिन्न मितिमा सम्पन्न हुने भनेर हल्ला मात्र चलिरहेको सन्दर्भमा यो आर्थिक बर्ष भित्र जसरी पनि सम्पन्न गर्न सरोकारवाला पक्षलाई निर्देशन समेत दिनु भएको छ ।

कार्यक्रममा प्रदेश सांसद सरस्वती बस्नेत, प्रमुख भरतबहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button