जाजरकोटमा चिसो बढ्यो
जाजरकोट । पहाडी जिल्ला जाजरकोटमा केही दिन यता चिसो बढेको छ ।
चिसो बढेपछि घरमा साँझ बिहानको काम गर्न निकै कठिन भएको बारेकोटका स्थानीय भीमबहादुर सिंहले बताउनु भयो ।
अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा तथा बालबालिकालाई चिसोले बढी समस्या भएको सिंहको भनाइ छ ।
चिसोका कारण जिल्लाको उच्च क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । स्थानीयले घरघरमा आगो बालेर ताप्ने र बस्ने गरेका छन् । चिसोले गर्दा दैनिक कामकाज गर्न धेरै समस्या भएको स्थानीयले बताएका छन् । गत भदौदेखि पानी परेको छैन, पानी नपरेपछि चिसो एकाएक बढ्दै गएको हो ।
चिसोको कारण स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै गएको जाजरकोट अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर अमिन शाहले बताउनु भयो ।
चिसो धेरै बढेको छ यसले गर्दा निमोनिया, दम तथा फोक्सोमा संक्रमण बढ्ने भएको बिरामीले न्यानो कपडा लगाउने तातो खानेकुरा गरेमा चिसोबाट बच्न सकिने भएको हुँदा सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न शाहले आग्रह गर्नुभयो ।
आठ सय बालबालिकालाई न्यानो कपडा वितरण
जाजरकोटमा आठ सय बालबालिकाहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । कुशे गाउँपालिका दुई सय ८१ र छेडागाड नगरपालिकाका ५ सय ५० विपन्न तथा सीमान्तकृत बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छेडागाड नगरपालिका नगर प्रमुख लालबहादुर महताराले बताउनु भयो । चिसो मौसममा विपन्न परिवारका विद्यालय छाडने बालबालिकाहरूको दर बढिरहेको अवस्थामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको नगरप्रमुख महताराले बताउनु भयो ।
गरिबी र विपन्नताले विद्यालय छोड्नुपर्ने अवस्थामा रहेका बालबालिकाहरूलाई सहयात्रा परियोजनाले झोला, कापी, कलम, सट–पाइन्ट, स्विटर, जुत्ता, कलर पेन्सिल, ज्यामिति लगायतका न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो । सेभ द चिल्ड्रेनसंगको सहकार्यमा पहाडी क्षेत्र विकास अभियान र नगर र गाउँपालिकाको समन्वयमा बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनु भएको छ । उक्त सामाग्री वितरणले बालबालिकाहरूलाई विद्यालयमा नियमित हुन सजिलो हुने अध्यक्ष बस्नेतको भनाई छ ।
सम्बन्धित समाचार
बढ्दो चिसोका कारण वृद्ध र बालबालिका प्रभावित
चिसोसँगै क्षयरोगीको सङ्ख्यामा वृद्धि
चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो








प्रतिक्रिया राख्नुहोस्