तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिने निःशुल्क उपलब्ध गराइने’

काठमाडौँ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन सरकारले निःशुल्क उपलब्ध गराउने बताउनु भएको छ ।
अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अर्थमन्त्री पौडेलले सबै नागरिकलाई भ्याक्सिन निःशुल्क उपलब्ध गराउन चाहिने बजेट व्यवस्थापन गर्न सक्ने अवस्थामा सरकार पुगेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले खोप किन्नका लागि प्रक्रिया अघि बढाएको र सस्तो, गुणस्तरीय भरपर्दो भ्याक्सिन छिटोभन्दा छिटो आयात गर्ने गरी काम अघि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो ।
अर्थमन्त्री पौडेलले समयमै भ्याक्सिन उपलब्ध गराउन स्रोतको अभाव नहुने  र सरकारले ल्याउने खोप प्राथमिकता अनुसार सबैलाई उपलब्ध गराइने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले हाल सरकारको मुख्य ध्यान कोरोना विरुद्धको लडाइमा सफलता प्राप्त गर्ने, मुलुकको आर्थिक सामाजिक अवस्थालाई पुरानै स्थितिमा फर्काउने गरी उत्पादनशील गतिविधि बढाउन केन्द्रित रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले नेपाल आर्थिक पत्रकार सङ्घ नाफिज लगायतका पत्रकारिता सम्बद्ध निकायहरूलाई मन्त्रालयको तर्फबाट गर्न सकिने सहयोग गर्न मन्त्रालय तत्पर रहेको पनि अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button