तपाईँ सुन्दै हुनुहुन्छः

महको उत्पादन घटेपछि सल्यानका किसान मर्कामा

सल्यान । मह उत्पादनका लागि राम्रो सम्भावना रहेको सल्यानमा यस वर्ष भने मह उत्पादन घटेको छ ।

जिल्लामा पकेट क्षेत्रका रुपमा घोषणा भएका गाउँहरूमा मह उत्पादन घटन थालेपछि किसानहरू मर्कामा परेका छन् । मह उत्पादन घटेपछि मौरी पालक किसान चिन्तित बनेका छन् ।

गत वर्ष १४ क्विन्टल मह बिक्री गरेको कालीमाटी गाउँपालिका–२ झिँगानेका लोकेन्द्र वलीले यस वर्ष मुस्किलले तीन क्विन्टल हुने बताउनुभयो । मौरी पालनलाई प्रमुख व्यवसाय बनाउनुभएका वलीले यस वर्ष भने मह उत्पादन घट्दा समस्या भएको  बताउनुभयो  ।

यस वर्ष चिउरी निकै कम मात्रामा फुल्नु तथा फूलेका फुलमा पनि रस नहुनु, वनमा झुसिलकिराको प्रकोप लगायतका कारण मह उत्पादन घटेको वलीको भनाई छ ।

महको उत्पादन घट्दा जीविकोपार्जनमा समेत समस्या भएको अर्का किसान वेतबहादुर वलीले बताउनुभयो । गत वर्ष ६ क्विन्टलभन्दा बढी मह बिक्री गरेका वेतबहादुर यो वर्ष दुई क्विन्टल पनि नपुग्ने बताउनुभयो ।

मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष आठ सय रुपैयाँ किलो बिक्री भएको मह यो वर्ष भने एक हजार रुपैयाँमा बिक्री भएको छ ।

गत वर्ष सल्यानमा १२ मेटिक्टन मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा करिब १ हजार ५ सय ३० भन्दा बढी मौरी घार रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button