रुपन्देहीमा नागरिकता लिनेको घुइँचो
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा नेपाली नागरिकता लिनेहरूको घुइँचो लाग्न थालेको छ ।
कोरोना भाइरसका कारण लामो समयसम्म रोकिएको सेवा सुरु भएपछि नागरिकता लिनेहरूको भीड लाग्न थालेको हो । जिल्ला प्रशासन कार्यालयले आजभोलि एक दिनमा २ वटा गाउँपालिका तथा स्थानीय तहका नागरिकलाई नागरिकता दिने गरेको छ ।
कोरोनाका कारण कर्मचारीको अभाव र सामाजिक दुरी कायम गरेर सेवा दिनुपर्ने भएकाले सेवाग्राहीको भीड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
स्थानीय तहहरूलाई दिन छुट्टाएर नागरिकता दिनुपर्ने बाध्यताका कारण पनि दैनिक ९० देखि १ सय २० जनासम्मलाई नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र सिमाना जोडिएका स्थानीय तहबाट नागरिकता लिन आउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार नागरिकता लिन आउनेमा पुरुषभन्दा महिलाको सङ्ख्या धेरै रहेको छ ।
जिल्ला प्रशासनले सेवा दिन ढिलाइ गर्ने गरेको सेवाग्राहीको गुनासो छ । एकै दिनमा सकिने काम पनि कर्मचारीले विभिन्न बहानामा दुःख दिने गरेको लुम्बिनीका अकावल खांनले गुनासो गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्