मङ्सिरमा धूमधामसँग गरेको विवाह पुस नलाग्दै भयो हर्ष न बिस्मात !

रोल्पा । मङ्सिरको महिना धेरैले विवाह गरे । यो महिनामा धेरैले सिउँदो रङ्गाए,घरजम गरे र खुसीसाटासाट गरे । एक जोडीलाई भने भर्खरै भएको विवाह ‘हर्ष न बिस्मात’ जस्तै भएको छ ।
रोल्पाका एक जोडिले मङ्सिरको २९ गते धूमधामका साथ विवाह गरे । उनीहरुले संस्कार अनुसार घरमा मण्डप बनाएर विवाह गरी आफन्तजनलाई भोजपनि खुवाए । मङ्सिरमा धूमधामसँग गरेको विवाहले पुस महिना छुन नपाउँदै मान्यता नपाएसँगै उनीहरूलाई यो विवाह अहिले हर्ष न बिस्मात भएको हो ।
विवाह गरेर भोजभतेर सकेर माइती बुझाउन जाँदै गर्दा यो जोडीलाई बीच बाटोमै प्रहरीले समात्यो । अहिले यो जोडिलाई प्रहरीले कानुन बमोजिम छुटाइदिएको छ । बालविवाह गरेको भन्दै प्रहरीले उनीहरुको विवहालाई मान्यता नदिएको हो ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं.२ का २० वर्षीय राजु बिक र रोल्पा त्रिवेणी गाउँपालिका २ की १६ वर्षीय याम कुमारी बिकको जोडीलाई बिहे घरबाट माइतीतर्फ जाँदै गर्दा प्रहरीले समातेको हो । रोल्पाको होलेरी बजारबाट सडकमा गुडिरहेको बिहेको गाडीलाई शङ्का लागेपछि रोकेर सोधपुछ गर्दा बालविवाह भएको थाहा पाएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘बिहेको लागि केटीको उमेर पुगेको छैन, २० बर्ष नपुगेकोले बालविवाह भएको हुँदा बिहे बदर हुने र दुवै पक्षको अभिभावकलाई बोलाई उनीहरूलाई सम्झाइ बुझाइ गरी अभिभावकको जिम्मा लगाइएको’ प्रहरी निरीक्षक खड्काले जानकारी गराउनु भयो ।
८ महिनामा ९ जोडी नियन्त्रणमा
रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार २०७७ वैशाखदेखि मङ्सिर मसान्तसम्म जिल्लाको त्रिवेणि गाउँपालिका ,रुण्टीगढी गाउँपालिका र लुङ्ग्री गाउँपालिकामा बालविवाह गरेका ९ वटा जोडीलाई नियन्त्रणमा लिएर सम्झाइ अभिभावको जिम्मा लगाइएको बताउनुभयो ।
पछिल्लो समय रोल्पामा बालविवाहलाई रोक्न र न्यूनीकरण गर्न प्रहरीले अभियानकै रुपमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएपनि बाल विवाह गर्नेक्रम रोकिएको छैन । प्रहरीको चेतनामूलक अभियानका कारण बालविवाहमा कमी भने भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्