तिलोत्तमा नगरपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो ।
दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ । विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् ।
पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्