तपाईँ सुन्दै हुनुहुन्छः

माघको दोस्रो साताबाट महिला लिग सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघको दोस्रो साताबाट महिला लिग सुरु गर्ने भएको छ ।

एन्फा कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लिग माघ ७ बाट सञ्चालन गर्ने तयारी गरेको हो ।

एन्फा महिला विभाग प्रमुख हरि खड्काले माघ दोस्रो साताबाट महिला लिग सञ्चालनमा आउने जानकारी गराउनुभयो । एन्फाले यसअघि नै जिल्ला छनोट तथा नगर छनोटसँगै ४ टोली तयार गरेको एन्फाले फाइनल चरणमा विभागीय ३ टोलीसहित ७ टोलीलाई महिला लिगमा प्रतिस्पर्धा गराउन लागेको छ ।

महिला विभाग र एन्फाले गत बैशाखमा प्रतियोगिता सञ्चालनमा ल्याउने तयारी गरेपनि कोरोना महामारिपछि प्रतियोगिता स्थगित भएको थियो । सरकारले खेलकुद क्षेत्रको प्रशिक्षण सुरु गर्न स्विकृती प्रदान गरेसँगै विभागीय तीन टिम (आर्मी, पुलिस र एपीएफ) ले प्रशिक्षण सुरु गरिसकेका छन् ।

यस्तै, एन्फाले काठमाडौंमा माघ ६ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा भोलि पल्टै एन्फाले महिला लिग सुरु गर्ने तयारी गरेको हो । एन्फाको वार्षिक कार्यक्रम अनुसार कोरोना महामारीपछि नेपालमा सुरु हुने फुटबल प्रतियोगिता महिला लिग पहिलो प्रतियोगिता हुनेछ ।

एन्फाले कोभिडको प्रभाव हेरेर दर्शकसहितको महिला लिगको योजना बनाएको छ । यसअघि मोफसलमा लिग खेलाउने तयारी गरेको एन्फाले कोरोनाकै कारण प्रतियोगिता उपत्यका बाहिर नलैजाने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button