तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा आलुको मूल्य बढ्यो

सोलुखुम्बु  । तरकारीका लागि आलु किन्न सोलुखुम्बुको सदरमुकामस्थित साप्ताहिक हाट नयाँ बजारमा आउनु भएका सल्लेरीमा डेरा गरी बस्ने ज्ञानु बस्नेत आलुको मूल्य सुनेर छक्क पर्नुभयो । उहाँ आफूले आलु किन्न बोकेको पैसाले चाहे जति आलु नआउने भएपछि थोरै मात्र आलु लिएर घर आएको बताउनुहुन्छ ।

भर्खर आलु रोप्ने सिजन हुँदै छ यतिखेर नै आलुको मूल्य छोइ नसक्नु भइसकेको छ, यही दरमा मूल्य बढ्ने हो भने यस वर्ष आलु किन्न कठिन हुने देखिन्छ, –उहाँले भन्नुभयो । अहिले बजारमा प्रतिपाथी तीन सय रूपियाँमा किनबेच भइरहेको उहाँले बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष सुरुवातका दिनदेखि नै आलुको मूल्य ह्वात्तै बढिरहेको र गत वर्ष यसै सिजनमा भएको मूल्यको दाँजोमा तेब्बर मूल्य बढेपछि उपभोक्ताहरू आलुको उपभोग गर्न कठिन भएको बताउन थालेका छन् ।

यस वर्ष त आलुको बिउ पनि चाहे जति नपाएको सल्यानका पृथिबहादुर राउतले बताउनुभयो । जिल्लामा भएका अधिकांश बजारहरूमा यस वर्ष आलुको मूल्य उच्च भएको र आलुको बिउ समेत अभाव भएको कृषकहरूले बताएका छन् ।

अघिल्लो साल भने आलु विक्री नभएर गाई भैँसीलाई खोले पकाएर दिएको र कति त कुहिएर गएको सम्झनुहुन्छ मुख्य आलु उत्पादन क्षेत्र तामा खानीको लोदिङ्गबाट आलु बेच्न नयाँ बजार आउनु भएका सुम्बा शेर्पा । यस वर्ष आलुको उत्पादनमा कमी आएकाले बिउ पनि चाहे जति नपाएको उहाँको भनाइ छ ।

सोलुखुम्बुकै तल्लो भेग तथा ओखलढुङ्गाका धेरै गाविसहरूका समेत आलुको राम्रो निकासी भइरहेकोमा यस वर्ष भने जिल्लामा नै अभाव देखिएपछि उपभोक्ता चिन्तित बन्न थालेका छन् । अघिल्लो साल एक पाथीको करिब एक सय रुपियाँसम्म विक्री भएको थियो । भर्खर आलु रोपिएकाले नयाँ आलु फल्न धेरै समय बाँकी भएकाले आलुको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यस पटक पानी धेरै भएकाले आलु उत्पादनमा कमी आउँदा मूल्य आकासिएको हो । धेरै वर्षदेखि आलुको व्यापार गर्दै आउनुभएका तामा खानीका रिन्जी शेर्पा भन्नुहुन्छ, पानी पर्न थालेपछि आलुको बोट नै कुहिने गरी लगातार पानी परेकाले आलु धेरै कम फलेका कारण यसरी मूल्य बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button