तपाईँ सुन्दै हुनुहुन्छः

६ सय ५० जनाले पाए लालपूर्जा

रुपन्देही-रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ६ सय ५० जनाले लालपूर्जा पाएका छन् । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपूर्जा वितरण गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पूर्जाविहीन अवस्थामा रहेका छ सय ५० घरपरिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपूर्जा वितरण गरिएको हो ।

नगर प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरी योजना बनिरहेको बताउनुभयो ।
ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्ययन पूरा भइसकेको उहाँको भनाइ छ ।

नापी कार्यालय रुपन्देहीका २ नम्बर टोलीप्रमुख यमप्रसाद पाण्डेले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button