सल्यानमा सङ्कटमा पर्दै बाँसको सामान बनाउने व्यवसाय

सल्यान । ग्रामीण क्षेत्रमा समेत प्लास्टिकका सामानहरू बढ्न थालेपछि बाँसका सामान बनाउने पेसा सङ्कटमा पर्दै जान थालेको छ ।
बाँसका सामानलाई आफ्नो परम्परागत पेसाबाट जीविकोपार्जन गर्दै आइरहेका यहाँका किसानहरू पछिल्लो समय प्लास्टिकका सामान आउन थालेपछि चिन्तित हुन थालेका छन् ।
बाँसका चोयाबाट डोको, भकारी, चुन्थे, डाली , नाङ्लो बनाउँदै आएका धेरैजसोले पेसा छाड्दै जान थालेका छन् । गाउँ गाउँमा सहरबाट आयातित प्लास्टिकका सामान छ्यापछ्याप्ती पाइनथालेपछि आफूहरूको परम्परागत जीविकोपार्जनको पेसा सङ्कटमा पर्दै जान थालेको व्यवसायीहरूको भनाई छ ।
झट्ट हेर्दा आकर्षक, सस्तो र सुलभ रुपमा पाइने भएपछि बाँसबाट बनेका सामानको माग निकै कम हुन थालेको कुमाख गाउँपालिका वडा न ३ राम्रीका रमेश पुनले बताए । उनले भने ‘पहिले पहिले बाँस र निगालोबाट बुनेका सामान मात्र प्रयोग हुन्थ्यो आजभोलि बजारमा जस्तो खोजे पनि पाइन्छ सबै प्लास्टिकका सामान किन्न लागि परेका छन् ।’ विगतमा महिनामा ३० देखि ४० वटासम्म डोको बिक्री हुने गरेकोमा आजभोलि महिनामा मुस्किलले १५ देखि २० वटासम्म बिक्री हुने गरेको पुनले बताए ।
बाउ बाजेको गर्दै आइरहेको परम्परागत पेसालाई निरन्तरता दिन निकै समस्या हुने गरेको कपुरकोट गाउँपालिका दानवाङका हरि बहादुर डाँगीले बताए । निमार्ण गरिएका सामाग्री बजारमा पहिले जति माग हुन्थ्यो अहिले निकै घटेर आउने गरेको उनले बताए । उनले भने ‘हुन त परम्परागत पेसाबाट चटक्कै हात धुनु परेको त छैन तर हिजो बाँसका सामान खोजी खोजी राख्ने चलन थियो भने आजभोलि धार्मिक कार्यका लागि चाहिने टोकरी, डकनी र डोकोको मात्र थोरै माग हुने गर्दछ ।’
बाँसको चोयाबाट बनेको सामानको बिक्री गर्न जाँदा झाँपी र टोकरीको माग धेरै हुने दानवाङका अर्का किसान देविराम बुढाले बताए । यी सामाग्री विवाह, पूजाआजामा बढी प्रयोगमा आउने गर्छ उनले भने । झाँपीको ५००, टोकरीको २०० रुपैयाँसम्म बिक्री गर्ने गरेको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्