पोखरामा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी वीरगञ्जमा
वीरगञ्ज । पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनका लागि ‘जाऊ है पोखरा’ मूल नाराका साथ पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराले आज वीरगञ्जमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपालको काठमाडौं, पोखरा मात्र पर्यटकीय स्थल नभई मधेसमा पनि धेरै पर्यटकीय स्थल रहेको बताउनुभयो ।
बाह्य र आन्तरिक पर्यटक पोखरा घुम्ने तर मधेसका पर्यटकीय स्थलमा नघुम्दा पर्यटकहरु आपूm ठगिएको महसूस गर्ने गरेको बताउनुभयो ।
मन्त्री मण्डलले सङ्घ सरकारले भिजिट नेपाल २०२० घोषणालगत्तै लकडाउनको कार्यक्रम स्थगित भएको र अहिले विस्तारै आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाले सीमानाका बन्द भएको कारण भारतीय पर्यटकहरु नेपाल आउन नसकेको र यस सम्बन्ध्मा संघ सरकारसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
भिजिट मधेस अभियान अन्तर्गत प्रदेश सरकारले ५ र ७ दिनको प्याकेज बनाएर प्रदेशभरिका पर्यटकीय स्थल भ्रमण गराउने योजना अनुरुप अगाडि बढिरहेको राज्यमन्त्री मण्डलले बताउनुभयो ।
प्रदेश नं. २ धार्मिक पर्यटकहरुको लागि उपयुक्त भएको र सङ्घ सरकारसँग समन्वय गरी पर्यटकीय स्थलको सौन्दर्यकरणमा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले देशको विकास गर्न सङ्घ सरकारले पर्यटन, उद्योग र कृषिमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । पर्यटनको सवालमा पोखरा रमणीय स्थल रहेको र त्यहाँ विदेशीभन्दा बढी भारतीय पर्यटकहरु जाने गरेको कुरामा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल होटल व्यवसायी सङ्घ, पोखराका अध्यक्ष विकल तुलाचन्दले लकडाउनको कारण सबैभन्दा बढी मारमा होटल व्यवसायी परेको बताउनुभयो ।
पोखरामा हाल ७ सयभन्दा बढी होटल रहेको र त्यसको लागि पिसिआर, क्वारेन्टाइन, भौतिक दूरी, मास्क, सेनिटाइजरको व्यवस्थापन गरी पर्यटकहरुलाई आउन जान सहजीकरण गरिएको जानकारी दिनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, भिजिट नेपाल अभियानका ओमप्रकाश सर्राफ, होटल व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, तबरेज अहमद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्