‘प्रदेश २ लाई समृद्ध बनाउन कृषिको विकासमा जोड दिन जरुरी’
जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तराई मधेशलाई कृषि क्षेत्रको विकास मार्फत समृद्ध बनाउनका लागि प्रदेश २ सरकारले सिञ्चाई क्षेत्रको विकासमा गरिरहेको योगदानको सराहना गर्नु भएको छ ।
जसपाका वरिष्ठ नेता महतोले धनुषाको नगराईन नगरपालिकाको फूलगामामा रहेको मनियारी सिञ्चाई योजनाको शिलान्यास कार्यक्रममा प्रदेश २ का अधिकांश जनता कृषिमा निर्भर रहेकाले सिञ्चाईको अभावमा निक्कै समस्यामा रहने गरेकाले सिञ्चाईमा जोड दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले खेत खेतमा सिञ्चाई तथा हातहातमा रोजगार भन्ने नारालाई विभिन्न जिल्लामा नयाँ सिञ्चाई योजनाहरुको शुभारम्भ गरेर सार्थक बनाउने अभियानमा प्रदेश सरकार लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनारले प्रदेश २ का ८५ प्रतिशत जनता कृषि पेशामा लागेकाले खेतमा हरियाली नआएसम्म किसानको अनुहारमा खुशीयाली आउन नसक्ने भएकाले प्रदेश सरकारले सिञ्चाईमा जोड दिईएको बताउनु भयो ।
उहाँले सिञ्चाई, मल, खाद्यको अभावमा किसानहरु पीडित हुदै आएकाले नै प्रदेश सरकारले पानीका साना साना श्रोतहरुको सही व्यवस्थापन गरेर जनताको खेतखेतमा सिञ्चाई सेवा पुर्याउने गरी अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले किसानको अनुहारलाई उज्यालो बनाउनका लागि कृषिमा सुधार एवं विकास आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश नंं २ का प्रदेश सभाका सदस्य परमेश्वर साह, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु राजु चौधरी, ज्ञानेन्द्र झा, मनोज चौधरी सहितका वक्ताहरुले प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि गरेको योगदानको सराहना गर्नुभयो ।
प्रदेश नंं २ सरकारको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय जनकपुरको रेखदेखमा १७ करोडको लागतमा दुई वर्षमा उक्त सिञ्चाई योजना सम्पन्न गर्ने कार्यक्रम रहेको सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले जानकारी दिनु भयो ।
सिञ्चाई योजनाको निर्माण सम्पन्न भएपछि सो क्षेत्रका ५ सय ५० हेक्टर क्षेत्रफलमा बाह्र महिना नै सिञ्चाई सेवा पुग्ने सिडिई झाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्