सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

सुर्खेत । सुर्खेतमा ढिलैभएपनि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ ।
सुर्खेत निवासी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार पहिलो परिचयपत्रमा आफ्नो नाम समावेश गरेर तथ्यांकको आधारमा राष्ट्रिय परिचय खुल्ने नम्बरसहितको बहुउपयोगी परिचयपत्र वितरण सेवाको शुभारम्भ गर्नु भएको हो ।
नागरिकहरुको बैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त परिचयपत्र प्रजिअ रेग्मीसँगै आम नागरिकका लागि शुरु गरिएको छ ।
विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरुवात गरेको हो ।
कोरोना महामारीका कारण ढिलाई भएपनि जिल्लाका सबै स्थानीय तहमा पाउने गरि अहिले राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनासँगै जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद आदीको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुनेछ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी नागरिकका सूचना विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आबद्ध गर्नमा थप टेवा पुग्ने अपेक्षा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्