उपचारमा दोहोरो शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्नेः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । कोरोना सङ्क्रमणको उपचारमा दोहोरो शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले सरकार र सेवाग्राही दुवै पक्षबाट शुल्क लिने गरेका अस्पतालहरूको अनुगमन तथा कारबाही गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा गौतमले कोरोना सङ्क्रमणको उपचारका लागि सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिइरहेको जनगुनासो आएकाले अस्पतालहरूको अनुगमन गरी कारबाहीका लागि केस व्यवस्थापन कार्यदलले आवश्यक कार्य गर्ने गराउने जानकारी दिनुभयो ।
यस्तै सबै प्रदेशहरूमा उच्चस्तरीय सेवा व्यवस्थापन तथा एम्बुलेन्स व्यवस्थापन समिति, केस छानबिन तथा कनट्र्याक्ट ट्रेसिङ समिति, सूचना तथा जोखिम सञ्चार सम्बन्धी समिति र चिकित्सा सम्बन्धी कार्यदल बनाएर काम गर्न गराउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता प्रा.डा गौतमले बताउनुभयो ।
देशभर १७५२ जना कोरोना संक्रमण मुक्त
आज देशभर थप एक हजार सात सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको कूल सङ्ख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तत्याँङ्क अनुसार हालसम्म संक्रमण मुक्त हुनेको दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।
आज थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार चार सय ९५ वटा पिसिआर परीक्षण गर्दा ६ सय ८८ पुरुष र ४ सय ८ महिलामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या दुई लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४ ६१ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय १३ जनाको आई.सी.यु मा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमण कारण आज थप १७ जनाको मृत्यु भएसँगै संक्रमण पछि मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ५ सय ९४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्