जुम्लाका ९५ प्रतिशत किसान अझै बिमाको पहुँच बाहिर

जुम्ला । जुम्लाको प्रमुख नगदे बाली स्याउ, सिमी, ओखरलगायतका अन्नबालीको अनिवार्य कृषि बिमा गराउनु पर्ने सरकारी नीति छ ।
असिना, खडेरी, हावाहुरीलगायतका विपत्तिबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको थियो । तर जुम्लामा जनचेतनाको अभाव र स्वयम किसानलै चाँसो नदिएका कारण हालसम्म ९५ प्रतिशत किसान बिमाको पहुँचमा छैनन् ।
सरकारी तथ्याङ्क अनुसार जुम्लाका १९ हजार घरधुरी मध्ये साढे १६ हजार घरधुरी स्याउ खेती लगायत अन्य कृषिमा आबद्ध रहेका छन् । तर बिमित किसानको सङ्ख्या हेर्दा ५.५ प्रतिशत किसानले मात्रै स्याउ लगायत अन्य कृषि बिमा गरेको पाइएको छ भने ९५ प्रतिशत किसान अझै बिमाको पहुँच बाहिर रहेका छन् ।
जुम्लाको आर्थिक विकास र जीविकोपार्जन गर्ने मुख्य स्रोत भनेकै स्याउ खेती हो । सरकारी तथा निजी क्षेत्रले स्याउ बिमा गर्ने बारे किसान जनचेतना नदिएका पनि हैनन् । तर बिमाको फाइदा र आवश्यकता नबुझेकै कारण जुम्लाका हजारौँ किसान बिमाको पहुँचमा छैनन् ।
१६ हजार घरधुरी मध्य ५.५ प्रतिशत मात्रै बिमित हुनु भनेको जम्मा आठ सय ८० जना किसान मात्र बिमाको पहुँचमा आउनु हो । अझै करिब १५ हजार एक सय २० जना किसानले बिमा गरेका छैनन् ।
यस वर्ष कालो तुसारोका कारण जुम्ली किसानले स्याउबाट कमाउन सकेनन् । तर बिमा गरेकाहरू राहत पाए, भने नगरेका ९५ प्रतिशत किसानले न राहत न कमाई खाली हात हुनु परेको शिखर इन्सोरेन्स शाखा जुम्लाले जनाएको छ ।
जुम्लामा शिखर इन्सोरेन्सले मात्रै स्याउ लगायत अन्य बालीको कृषि बिमा गरिरहेको छ । इन्सोरेन्स कम्पन्नीको तथ्याङ्क अनुसार चन्दननाथ नगरपालिकामा ७४ जना किसानले मात्रै बिमा गरेका छन् भने, तातोपानीका एक सय पाँच जना, गुठिचौरका ८७ जना, पातारासीका एक सय ५५ जना, तिलाका एक सय ४५ जना, सिंजाका ४३ जना, नराकोटका ४९ जना, कैलाश कोल्ड स्टोरबाट ७७ जना र पेस नेपालबाट एक सय ४५ गरी जम्मा आठ सय ८० जनाले मात्रै स्याउ बिमा गरेको शिखर इन्सोरेन्सका जुम्ला शाखा प्रबन्धक ऋषिराम पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार जुम्लाका स्याउ किसानको सङ्ख्याको अनुपातमा बिमित सङ्ख्या धेरै न्यून छ । थोरै पैसाको मोह नगरी भविष्यमा आइपर्ने जोखिम बहन र राहतका लागि बिमा गर्न उहाँको आग्रह छ ।
कृषि कार्यालय लगायत स्थानीय तहले स्याउ किसानलाई अनिवार्य बिमा गर्नै पर्ने बारे अभिमुखी करण गर्नु पर्नेमा पाण्डेले जोड दिनुभयो । जिल्लाभरिका ८ सय ८० जना किसानका ५१ हजार ९ सय ८० स्याउका बोटका बिमा गरिएको छ ।
बिमाङ्क रकममा ७५ प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत मात्रै किसानले व्यहोर्नु पर्ने व्यवस्था छ । तर पनि किसानले बिमा गर्न कन्जुसाई गरिरहेका छन् । असिना परेर क्षति भए प्रतिबोट पाँच सय र खडेरीबाट क्षति भए प्रतिबोट दुई सयका दरले राहत उपलब्ध गराइने बिमा कम्पन्नीले बताएको छ ।







प्रतिक्रिया राख्नुहोस्