तपाईँ सुन्दै हुनुहुन्छः

घुससहित नापतौल कार्यालयका ४ कर्मचारी पक्राउ

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले ११ हजार घूससहित नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ ।

हिजो अपरान्ह पक्राउ परेका चारजनामध्ये दुईजनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अख्तियारको निर्देशन अनुसार कार्यालय प्रमुखको जिम्मा लगाएको र रिपोर्ट नेगेटिभ आएपछि अख्तियारमा बुझाउने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भयो ।

पक्राउ परेका कर्मचारीमध्ये सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, सहयोगी पद्मबहादुर रोक्का, सत्यनारायण चौधरी र एकजना चालक रहेका छन् ।

पोजेटिभ देखिएका दुई कर्मचारीलाई होम आइसोलेशनमा राखिएको र अन्य दुई कर्मचारीलाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको जिम्मामा लगाईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिनुभयो ।

हिजो परवानीपुरको एक कारखानामा चेकजाँचको बहानामा नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जका कर्मचारीहरुले सामानहरु नियन्त्रणमा लिएका थिए । सोही सामान फिर्ता गर्न कर्मचारीले कारखानासँग ११ हजार घूस लिएका थिए ।

सहायक निरिक्षक विरेन्द्र उपाध्यायले ५ हजार तथा कार्यालय सहयोगी र चालकले २–२ हजारको दरले रकम लिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button