केन्द्रीय सहकारी बजारको उद्घाटन
काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रमबीच बजारको उद्घाटन गर्नुभएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।
केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताउनुभयो । अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो ।
यस्ता बजारहरु सरकारको पहलले मात्रै सबै ठाउँमा सम्भव नहुने भन्दै देशभर रहेको सहकारीहरुले पनि सहकार्य गर्न आवश्यक रहेको मन्त्री अर्यालको भनाई थियो । ‘सहकारीसँग प्रशस्त पैसा छ । उनीहरुसँग पैसाको कमी छैन । सहकारीबाट उत्पादित सामग्रीहरुको बजार व्यवस्थापनका निम्ती बजारको व्यवस्था गर्ने कार्यमा सहकारी संस्थाहरुले पनि लगानी गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा विचमा रहेका विचौलियाले पाउने कुराको अन्त्य गर्नुपर्ने भन्दै उहाँले किसानहरुको मर्का सम्बोधन गर्नका निम्ती पनि सहकारी बजार कार्यक्रम उपयुक्त भएको बताउनुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारी बजारमा रहेको बिचौलिया घटाउने । किसान र बजारलाई सिधै भेट गराउने माध्यमका रुपमा यसलाई सरकारले अगाडी बढाएको हो । यसले किसानहरु बढी लाभान्वित हुन्छन् ।’
बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरु मुलुकमा अत्यधिक भएको भन्दै मन्त्री अर्यालले त्यसलाई मर्ज गर्ने अभियान सञ्चालन गरिएको र अब व्यवसायिकता, उत्पादनसँग जोडिएका सहकारीलाई जोड दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्