कालिमाटी गाउँपालिकाभित्रका सामुदायिक वनहरु उजाड बन्दै

सल्यान । कालिमाटी गाउँपालिकाभित्रका सामुदायिक वन, राष्ट्रिय र निजी वनहरु उजाड देखिन थालेका छन् ।
वनमा झुसिल कीराले रुखका पातहरु खाएर रुखहरु रित्तो भएर जाने तथा हाँगाहरु सुक्न थालेपछि वन उजाड देखिन थालेका हुन ।
असोज ३ गतेदेखि देखा परेको झुसिल कीराले सल्यानको कालीमाटी गाउँपालिकामा रहेका सबै वन उजाड देखिन थालेका छन् ।
गाउँपालिका भित्रको साल मिश्रित सामुदायिक, राष्ट्रिय तथा निजी वनमा रहेका सालका पात झुसिल कीराले खाएर सखाप पारेपछि यस क्षेत्रमा रहेका सालका रुखहरु जंगल चैत बैशाख महिनाझैँ उजाड बनेका छन ।
स्थानीय कुलप्रसाद भण्डारीले किराले सालको पातमै लार्भा पार्ने र त्यही ठूलो भएपछि पातजति जम्मै सखाप पार्ने गरेको बताए ।
कीराले अहिले सालसँगै साजका रुख, च्यूरी र घाँससमेत खाएर सखाप पारिदिएको उनको भनाई छ । कीराले रुखहरु ढपक्क ढाक्दा स्थानीयलाई वनमा घाँस–स्याउला काट्न जान र गाईबस्तु चराउन लैजान पनि समस्या भएको छ ।
कालिमाटी –३ का उमेश कँडेलले झुसिलकीराकै कारण जंगलको बाटोमा हिड्न गाह्रो हुने गरेकोे बताए । उनका अनुसार किराको प्रकोप यस्तै बढ्दै गएमा रुखहरु कामै नलाग्ने अवस्थामा पुग्ने देखिएको छ ।

झुसिल कीराको प्रकोपका बारेमा डिभिजन वन कार्यालय सल्यानले स्थलगत रुपमा अनुगमन गरेको छ । ठूलो मात्राको झुसिल कीराले वन सखाप पारेकाले तत्काल रोकथाम तथा नियन्त्रण गर्न आफू एक्लैले नसक्ने डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले बताए ।
उनका अनुसार कालिमाटीको जलाधार क्षेत्रमा पर्ने जंगलमा अधिकांश साल प्रजातिका रुख तथा बोटबिरुवा छन ।
यहाँका सबैजसो रुखमा अहिले ती झुसिल कीरा लागेका छन । वनमा ठूलो मात्रामा झुसिल कीराको प्रकोप देखिएकाले यसको नियन्त्रणका लागि तत्काल अध्ययन र अनुसन्धान गर्नुपर्ने खाँचो देखिएको छ ।
मौरीपालन ब्यवसायिक रुपमा गरेका कालिमाटी क्षेत्रका किसानहरुले झुसिल कीराको असर मह उत्पादनमा समेत परेको छ ।
मौरी चरणका लागि जंगलमा जाने तर वनमा झुसिल कीराको प्रकोपले समस्या भएको हु्मलाल पंगालीले दुखेसो गरे ।








प्रतिक्रिया राख्नुहोस्