वीरगंजमा फेरि १ करोडको लागतमा सिसिटिभी क्यामरा जडान गरिदै

वीरगंज । मुलुकको प्रमुख आर्थिक तथा व्यापारीक केन्द्र वीरगंजलाई अपराधिक घटनाबाट सुरक्षित बनाउन सेफर वीरगंजले करिब १ करोडको लागतमा पुनः सिसिटिभी क्यामरा जडान गर्ने योजना अगाडी बढाएको छ ।
वीरगंज नगर क्षेत्रका विभिन्न सडक, चोक, बजार क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गरी वीरगंजलाई सुरक्षित बनाउने गरि योजना अगाडी बढाइएको छ ।
सेफर वीरगंजद्वारा आज वीरगंज उद्योग वाणिज्य संघमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघिय सांसद, प्रदेश सभा सदस्य, वीरगंज महानगरपालिका लगायतका संस्थाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले सेफर वीरगंजको योजनाले नगर क्षेत्रमा हुने आपराधिक गतिविधि निष्तेज हुनुको साथै आपराधिक समूहको मनोवल समेत कमजोर हुने बताउनु भयो ।
आइतबार दिउँसो वीरगंजको घण्टाघर अगाडी लिंकरोड स्थित माछापुच्छ्रे बैंकमा जम्मा गर्न लैजान लागेको अवस्थामा लुटेराको समूहले वीरगञ्जको माइस्थानमा कपडाको पसल सञ्चालन गरेर बसेका कृष्णप्रसाद साहका कर्मचारी मुकुन्द पटेलको ब्याग खोसेर ८ लाख रुपैया लुटेर फरार भएको थियो ।
यो घटना पछि प्रहरीको सक्रियतामा वीरगंजमा फेरि सेफर वीरगंजलाई क्रियाशिल बनाइएको छ । वीरगंजलाई चोरी, डकैती, हत्या, अपहरण लगायत अपराधिक घटनाबाट सुरक्षित राख्न सेफर वीरगंजलाई प्रदेश २ सरकारले ३५ लाखको भिडियो वाल उपलब्ध गराउने भएको छ ।
भिडियो वालबाट विभिन्न क्यामेराले खिचेको भिडियोलाई निगरानी गर्न र प्रदर्शन गर्न सहयोग हुने बताईएको छ । त्यसैगरी सेफर वीरगंजका लागि पर्सा क्षेत्र नं १ का संघीय सासद प्रदिप यादवले १० लाख, प्रदेश सभा सदस्य विभा यादव, करिमा बेगमले ५–५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरको विभिन्न ८ वटा वडा कार्यालयहरुले ३–३ लाखको दरले २४ लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, राजेश्वर साह तेली, रमेश कुर्मी, जन्नत अन्सारी लगायतले सेफर वीरगंजका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिनु भएको छ ।
२०६७ सालमा स्थापना भएको सेफर वीरगंजले पहिले नगर क्षेत्रका विभिन्न स्थानमा ८२ वटा सिसिटिभि क्यामेरा जडान गरेकोमा हाल वीरगंजको घण्टाघर, माईस्थान, गीता मन्दिर, आदर्शनगर, मकालु चोक, पुजन होटलचोक, ठाकुरराम क्याम्पस चोक, लिंकरोड, बसपार्क,गण्डक,रजतजयन्तीचोक क्षेत्रमा अहिले ५२ वटा सिसिटिभी क्यामेरा मात्र सञ्चालनमा रहेको दासले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्साको सहजीकरणमा आयोजना भएको कार्यक्रमा संघीय सांसद प्रदिप यादव, प्रदेश सांसद विभा यादव, करिमा बेगम, वीरगंज वडा नंम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, व्यवस्थित वीरगंजका संयोजक दिलिप कार्की, सेफर वीरगंजका पूर्ब अध्यक्ष अमर गौतम लगायतव विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्