तपाईँ सुन्दै हुनुहुन्छः

जुद्ध बारुण यन्त्र भक्तपुरको भवन शिलान्यास

भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको जुद्ध बारुण यन्त्र कार्यालयको भवन शिलान्यास गरिएको छ ।

रु ६ करोड २६ लाख ४९ हजार आठ सय ११ रुपैँयामा बन्न लागेको सो भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कार्यकारी निर्देशक श्याम किसोर सिंह, जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख सुरज निरौलाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

भवन ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी एउटा साढे दुई तले र अर्को तिन तल्ले नयाँ भवन बन्नेछन् । दुबै भवनमा चार÷चार वटा फायर ब्रिगेड गाडी अट्ने ठाउँ ,सभाहल र कर्मचारीहरुका लागि बस्ने कक्षको निर्माण हुने भएको छ ।

७७ वर्षे इतिहास बोकेको जुद्ध बारुण यन्त्रको कार्यालय अलपत्र अवस्थामा रहेकोमा भवन लामो समयपछि व्यवस्थित रुपमा निर्माण हुन लागेको हो ।

भवन शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विभिन्न चुनौीतहरुका बाबजुत पनि कार्यालयले विपतका समयमा समेत चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिंदै आइरहेका बताउनुभयो । कार्यालयमा स्रोतसाधनको अभावका बाबजुद पनि लामो समयदेखि सेवा दिँदै आइरहेको जुद्धलाई दिगो बनाउन अब बन्ने नयाँ भवनले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख सुरज निरौला, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका कार्यकारी निर्देशक श्याम किशोर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशी, जिल्ला आयोजना कार्यान्वयन इकाईका भवनका प्रमुख महालक्ष्मी जोशी र आवासका प्रमुख अनन्त प्रसाद आचार्य लगायतले कार्यक्रममा जुद्ध बारुण यन्त्र भक्तपुरको संरक्षण र विकासमा सबैको जिम्मेवारी भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट पहल कदमी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा हेवी सवारी चालक तथा प्रशिक्षक समेत रहनुभएका सशस्त्र प्रहरी हवल्दार उत्तरबहादुर खड्कालाई कार्यालयको तर्फबाट सम्मान गरिएको थियो । १६ बर्षदेखि सशस्त्र प्रहरीमा कार्यरत हवल्दार खड्का दोलखा जिरी जिल्ला निवासी हुनुहुन्छ ।

सरकारले दमकलको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपनि ललितपुर र काठमाडौंमा रहेका जुद्ध बारुण यन्त्र स्थानीय तहले नै जिम्मेवारी लिएका छन् । भक्तपुर नगरपालिकाले भने अझै पनि जिम्मेवारी लिन नमानेको अवस्था रहेको छ । भक्तपुरको जुद्ध बारुण यन्त्र भने गृह मन्त्रालय अन्तर्गत सञ्चालित रहेको छ ।

तत्कालीन राणा सरकारले वि.सं. २००१ मा तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी दूधपाटीमा जुद्ध बारुण यन्त्रको कार्यालय स्थापना गरेको थियो । त्यस यता बारुण यन्त्रले निरन्तर सेवा दिँदै आइरहेको छ । कार्यालयसँग पर्याप्त दमकल छैनन् भने, भएका दमकल पनि बिग्रिएका अवस्थामा छन् ।

कार्यालयमा भएका ६ वटा दमकल मध्ये चारवटा बिग्रिएको अवस्थामा रहेका छन् । मध्यपुर थिमि नगरपालिका र सिद्धि स्मृति अस्पतालले दिएको दमकल भने चालु अवस्थामा रहेका छन् । भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछापसम्म पुगेर समेत जुद्ध बारुण यन्त्र भक्तपुरले सेवा दिने गरेको छ ।

दमकल र यहाँका कर्मचारी विगत ३ वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दै आएका छन् । कार्यालयमा हाल २८ जना कर्मचारी कार्यरत छन् । आगलागीका घटना अत्याधिक हुने मौसममा आगो नियन्त्रण गर्न तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल लामो समयदेखि जीर्ण अवस्थामै रहेका छन् ।

जुद्ध बारुण यन्त्रका कर्मचारीले आगलागी नियन्त्रणमा जाँदा आजसम्म आगो ननिभाई नफर्केको र सडक दुर्घटना, भुकम्प, इनारमा मान्छे खस्दा र भेल, बाढी र खोलाले मान्छे बगाउँदा पनि ज्यानको बाजी लगाएर उद्दार गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button