५० अतिविपन्न दलित परिवारका लागि निःशुल्क आवास निर्माण
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका ५० अतिविपन्न दलित परिवारका लागि निःशुल््क आवास निर्माण थालिएको छ ।
महुली सामुदायिक विकास केन्द्र बकधुवा, ह्यबिट्याट फोर ह्यूमानिटी नेपाल र वडा कार्यालयको त्रिपक्षीय साझेदारीमा आवास निर्माण थालिएको हो ।
छाना कार्यक्रम सामुदायिक आवास योजना अन्तर्गत ५० घर अतिविपन्न परिवारका लागि आवास निर्माणको काम शुरु गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले बताउनुभयो ।
दलित तथा अतिबिपन्न समुदायको लागि निर्माण हुने ५० वटा घर निर्माणका लागि १ करोड ७५ लाख खर्च हुने चौधरीले जानकारी दिनुभयो । सामुदायिक आवास निर्माणमा ह्याबिट्याट फोर ह्यूमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्र बक्धुवाको १ करोड तथा वडा कार्यालयको तर्फबाट ७५ लाख लगानी गरेको शम्भुनाथ नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगतले बताउनुभयो ।
आवास निर्माणको काम ६० प्रतिशत भन्दाबढी सप्पन्न भई सकेकोले आगामी फागुन महिना सम्ममा समुदाय लाई हस्तान्तरण गरिसक्ने उहाँले जानकारी दिनुभयो । पक्की फाउन्डेशन, अन्य भागमा बाँस तथा भित्तामा सिमेन्टको ढलाई र टिनको छाना लगाएको ३ वटा कोठा र बराण्डा समेत भएको प्रतिघरमा ३ लाख २५ हजार लगानीबट घर बन्ने महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्