पर्साका पाँच शक्तिपिठमा एक साथ लाग्ने कार्तिक चतुर्दशी मेला स्थगित

बीरगंज । कोभिड–१९ को महामारीका कारण पर्साको ग्रामीण भेगका पाँच वटा शक्तिपिठमा कार्तिक शुल्क चतुर्दशीको अवसरमा लाग्ने मेला यस पटक स्थगित भएको छ ।
आजको दिन जिल्ला वन कार्यालय अन्तर्गतको जंगलमा रहेका विभिन्न पाँच वटा शक्तिपिठहरुमा लाग्ने मेला नलाग्ने भएको हो ।
ठोरी गाउँपालिका वडा ५ मा रहेको बाघमोर्चा माई, जिराभवानी गाउँपालिका वडा नं ५ मा रहेका सुगीभार माई, पटेर्वासुगौली गाउँपालिका वडा नं १ मा रहेका गादी माई, पर्सागढी नगरपालिका वडा नं १ रहेका कोइलाभार माई र वडा नं ३ रहेको आमोदेवी माइको मेला यस बर्ष स्थगित गरिएको छ ।
ठोरी गाउपालिका वडा ५ ठूलो बाघमोर्चा निवासी अष्ठ बहादुर लोप्चनले प्रशासनले मेला लगाउने अनुमति नदिएको हुँदा एक साताको बाघमोर्चा मेला नलाग्ने बताउनुभयो ।
आज राती मन्दिरमा जल चढाई समान्य रुपमा पूजा अर्चना गर्ने र भोली पूर्णिमाको दिन बली चढाई संस्कृति तथा परम्परालाई संरक्षण गर्ने लोप्चनले बताउनुभयो ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार मेला लाग्न नदिने सम्बन्धित मेला समितिलाई सूचना दिइसकेको बताउनुभयो ।
जवरजस्ती मेला लगाएमा कारवाही गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्