तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली शेयर बजारमा नयाँ रेकर्ड कायम

Symbolic Picture

काठमाडौं । नेपाली शेयर बजारमा आइतबार फेरि नयाँ रेकर्ड कायम भएको छ । आइतबार बजार ७५ अंकले बढेर १ हजार ९ सय ६८ अंकमा पुगेको छ ।

यसअघि गत बिहीबार १८८१ अंक उचाइको रेकर्ड ब्रेक गरेको बजारले आइतबार नयाँ रेकर्ड बनाएको हो ।

बजारको कारोबार रकम समेत इतिहासकै सबैभन्दा उच्च ९ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयरको किनबेच भएको छ । सर्वाधिक उच्च कारोबार रकम हुँदा प्रतिमिनेट करीब ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबारको बजारलाई जीवन बीमा र बैंकिङ समूहले धेरै उचालेको छ । २४५ अंकले बीमा समूह बढ्दा बैंकिङ समूहले पनि बलियो साथ दिएको छ । वाणिज्य बैंक ११२ अंक र विकास बैंक १७३ अंकले वृद्धि भएको छ ।

आइतबार सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन् । दर्जन बढी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आइतबार बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ६४ लाख रुपैयाँको सेयरको किनबेच आइतबार कुमारी बैंकको ४० करोड ९० लाख, प्रभु र नबिल बैंकको ३३–३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

दिनभरीमा २०० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीको मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ । आइतबार १४ कम्पनीहरुको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएन ।

आइतबार विशाल बजार कम्पनीको सेयर मूल्य भने सर्वाधिक घट्ने क्रममा नकारात्मक सर्किट ब्रेकर लागेको छ । कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button