तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक खोलेको तीस वर्षपछि खलङ्गा–बालुवासंग्रही सडक खण्ड कालोपत्रे हुँदै

सल्यान । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने खलङ्गा –जयतपानी –कुपिण्डे ताल –बालुवासंग्रही सडक खण्ड कालोपत्रे गर्न थालिएको छ ।

ट्याक खुलेको झन्डै ३० वर्षपछि सडक स्तरोउन्ती हुन थालेको हो । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना समेत रहेको उक्त सडक खण्ड दुई वर्ष भित्र सम्पन्न गर्ने गरी कामको थालनी भएको छ ।

पूर्व प्रधानमन्त्री मरीचमान सिंहले २०४५ सालमा उद्घाटन गरेको सो सडक बहुदल, सशस्त्र द्वन्द्वलाई पार गर्दै गणतन्त्र आएको पनि लामो समयपछि कालोपत्रे गरिँदै छ ।

कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको बजेटमार्फत उक्त सडक खण्डको कालोपत्रे गर्न थालिएको छ । सङ्घीय सरकारको ६ करोड र प्रदेश सरकारको २७ करोड गरी ३३ करोडको लगानीमा सडक कालोपत्रे गरिन थालेको छ ।

सङ्घीय सरकारको बजेटबाट अहिले ज्यामिरेदेखि बाबिया चौरसम्मको करिब साढे ३ किलोमिटर सडक दुई प्याकेजमा कालोपत्रे गर्न सुरु गरिएको पूर्वाधार कार्यालय सल्यानले जनाएको छ ।

यस्तै ११ किलोमिटर सडक कालोपत्रेका लागि गाल्वा धुलिखेल जेभीले ठेक्का पाई काम सुरु गरेको कार्यालयका प्रमुख इ।विनोद पुनले बताए । आठ मिटर चौडाइ रहने उक्त सडक दुई वर्षमा २७ करोडमा लागतमा सम्पन्न हुने उनको भनाई छ । निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी कामको थालनी गरिएको गाल्वा धुलिखेल जेभी का सञ्चालक प्रमोद श्रेष्ठले बताए ।

यो सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने महत्त्वपूर्ण र छोटो सडक हो । विगतदेखि नै यस सडकको स्तरोन्नति गरिँदै आएकोमा यस पटक कालोपत्रे गर्न लागिएको कार्यालयको भनाइ छ ।

अहिले सडकको छेउमा ग्याविन वाल लगाउने, नाली निर्माण गर्ने काम भइरहेको पुनले बताए । उनका अनुसार भ्याटसहित प्राकृतिक निशान जेभीले १ करोड ६३ लाख र क्रिष्टल निर्माण सेवाले १ करोड ५६ लाख रुपैयाँमा कामको जिम्मेवारी पाएका छन् ।

प्राकृतिक निशान जेभीका प्रोप्राइटर डिल्लीप्रकाश केसीले तोकिएको समयमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । ‘सडकको छेउमा ग्याविन लगाउने काम भइरहेको छ,’ उनले भने,

सल्यानको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल र कर्णाली प्रदेश राजधानी जोड्ने सडक सल्यानी जनताका लागि निकै अर्थपूर्ण हुने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । उनले भने कर्णाली प्रदेश सरकारले सदरमुकामबाट प्रदेश राजधानी जोडन नीतिमै उल्लेख गरेको थियो । यो सडक कर्णाली प्रदेश सरकारकै गौरवको योजना हो । सडकको स्तरोउन्ती पछि कुपिण्डे ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सहज हुने उनको भनाई छ ।

कच्ची सडक, बिच /बिचमा खाल्डाखुल्डी, बर्सातमा हिलो र हिउँदमा धूलोले गर्दा यात्रु र स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन् ।

सो सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्रे सम्पन्न भएपछि सल्यानबाट सुर्खेत करिब ३ घण्टामै पुगिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button