अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका सबै विद्यालय आइतबारदेखि सञ्चालन हुने

सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि संचालन हुनेभएका छन् ।
गाउँपालिकाले विद्यालय संचालन कार्यढाँचा,२०७७ बमोजिम विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
गाउँपालिकाको जनप्रतिनिधि, शिक्षा संयोजक, शिक्षा शाखा प्रमुख एवं सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकसहितको संयुक्त बैठकले आइतबारदेखि सबै विद्यालय खोल्ने निर्णय गरेको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण गत चैत्र महिनादेखि बन्द रहेका विद्यालयको शैक्षिकसत्र खेर जान नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
त्यसैगरी कञ्चनरुप नगरपालिकाले आइतबारबाट ५ कक्षा माथिका कक्षाहरु संचालन गर्ने भएको छ ।
यसअघि नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि माध्यमिक तहको कक्षा सञ्चालनमा ल्याएको थियो ।
विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाले नगर भित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि विद्यालयहरुले पढाई सञ्चालनमा ल्याएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो । उहाँले कोभिड १९ को महामारीलाई ध्यानमा राखी अवस्था हेरेर चरण बद्धरुपमा विद्यालयका कक्षाहरु संचालनमा ल्याउने बताउनुभयो ।
कञ्चनरुप नगरपालिकामा ८ वटा माध्यमिक विद्यालय, २४ वटा आधारभूत विद्यालय र २७ वटा निजि विद्यालयहरु रहेको शिक्षा शाखाका ललित नारायण यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्